सुनसरी | सुनसरीको रामधुनी नगरपालिका  वडा -७, पंचायन खेलमैदानमा दोस्रो अल्टिट्युड रनिङ कप खुल्ला फुटबल प्रतियोगिता यहीँ फागुन ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने भएको छ। प्रतियोगिता अल्टिट्युड क्लब  इटहरी वडा नम्बर २ को आयोजनामा हुन लागेको हो ।

प्रतियोगितामा कोशी प्रदेशका विभिन्न १० उत्कृष्ट फुटबल टिमले प्रतिस्पर्धा गर्नेछन्।  प्रतियोगितामा विजेता टिमलाई रु २ लाख २२ हजार २ सय २२/- नगद, १५ तोला चाँदीको सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। उपविजेता टिमले रु १ लाख ११ हजार १ सय ११ रूपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। 

प्रतियोगिता कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा उद्घाटन हुने भएको छ। प्रतियोगिताको मुख्य उद्देश्य नेपालका लुकेका खेलाडीहरूलाई अवसर प्रदान गर्दै पर्यटकीय स्थलहरूको पहिचान गराउनु रहेको अल्टिट्युड क्लबका अध्यक्ष पिताम्बर तिम्सिनाले बताउनुभयो ।

रामधुनी नगरपालिका-७ स्थित पंचाथन सिमसार, जुडी सिभसार, रासताल, शंखरवेलि ताल लगायतका पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्दै स्थानीय जातीय, सांस्कृतिक, धार्मिक र मौलिक कला-संस्कृतिलाई उजागर गरिनेछ।

खेलमैदान पूरा तयारी भएको आयोजक टिकमा कार्यक्रम संयोजक पुर्ण बहादुर मगरले बताउनुभयो । गत वर्षको पहिलो संस्करण इटहरी-१६, बरमपुर खेलमैदानमा कार्तिक १९ गतेदेखि २५ गते सम्पन्न भएको थियो। सो प्रतियोगितामा APF पकली फुटबल टिम विजेता बनेको थियो भने आयोजक अल्टिट्युड क्लब उपविजेता भएको थियो।

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, रामधुनी नगरपालिका, स्थानीय संघ-संस्था लगायत विभिन्न निकायको प्रत्यक्ष सहयोग रहनेछ। 

आयोजकका अनुसार, यो प्रतियोगिताले नेपालका युवा खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढ्ने अवसर प्रदान गर्नेछ। खेलकुदसँगै स्थानीय पर्यटन र व्यवसाय प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।