इटहरी | नेपाल लोकतान्त्रिक थारू संघ जिल्ला कमिटी सुनसरीको चौथो जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। सुनसरीको इटहरी वडा नम्बर १६ स्थित जब्दी मन्दिर पाङ्गणमा आयोजित उक्त अधिवेशन नेपाल लोकतान्त्रिक थारू संघ जिल्ला कमिटी सुनसरीका अध्यक्ष दुखिलाल चौधरीको अध्यक्षता तथा नेपाल लोकतान्त्रिक थारू संघका केन्द्रीय अध्यक्ष एवम् नेकपा एमाले पार्टी अनुशासन आयोग केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य लालमनि चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

अधिवेशनले संगठनको नेतृत्वलाई सशक्त बनाउन नयाँ कार्यसमिति चयन गरेको छ। अध्यक्षमा राज कुमार चौधरी, उपाध्यक्षमा शशि कुमार चौधरी, सचिवमा श्याम चौधरी, उपसचिवमा अनिता कुमारी चौधरी र प्रेम चौधरी, तथा कोषाध्यक्षमा प्रभाकर माझी चयन भएका छन्। साथै, विभिन्न सदस्यहरू समेत समेट्दै संघको जिल्ला कार्यसमिति गठन गरिएको छ।

नव-निर्वाचित अध्यक्ष राज कुमार चौधरीले आफ्नो नेतृत्वमा थारू समुदायको हकहितको लागि प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाए। उनले थारू समुदायको अधिकार सुनिश्चित गर्न र समृद्धिको मार्गमा अगाडि बढाउन आवश्यक पहल गर्ने उल्लेख गरे।

त्यस्तै, प्रमुख अतिथि लालमनि चौधरीले थारू समुदायका मुद्दाहरूलाई प्राथमिकतामा राख्दै नीति निर्माण तहमा आवाज बुलन्द गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले नेपाल लोकतान्त्रिक थारू संघले विगतदेखि नै थारू समुदायको हकहितका लागि संघर्ष गर्दै आएको बताउँदै आगामी दिनमा अझ सशक्त रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे।

अधिवेशनको अवसरमा थारू समुदायको पहिचान झल्किने विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएका थिए। कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी, सुनसरी क्षेत्र नं. ३ की सांसद तथा पूर्वमन्त्री भगवती चौधरी, नेकपा एमाले कोशी प्रदेश सदस्य तथा इन्चार्ज प्रदिप कुमार चौधरी, इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरी, रामधुनी नगरपालिकाका उपप्रमुख तारा थापा, पूर्व नगर प्रमुख द्वारिकालाल चौधरी, नेपाल लोकतान्त्रिक थारू संघका सुनसरीका पदाधिकारीहरू, नेकपा एमाले सुनसरी जिल्लाका पदाधिकारीहरू, स्थानीय नेताहरू, समाजसेवी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।IMG_20250219_134052

यो अधिवेशनले थारू समुदायको समृद्धि, अधिकार र पहिचानलाई अझ मजबुत बनाउने दिशामा ठोस निर्णय गर्ने अवसर प्रदान गरेको बताइन्छ। सहभागीहरूले नेपाल लोकतान्त्रिक थारू संघलाई थप सशक्त बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

1740020041589