इटहरी । मोरङको पथरिशनिश्चरे –०१ को पञ्चायत माविका कानुन समुहका छात्र–छात्राहरूले लेटाङ्ग नगरपालिकाको न्यायिक समितिको ईजालस तथा न्याय निरुपण सम्वन्धी अन्तरक्रिया गरेका छन् । शुक्रबार कक्षा –११ र १२ का विद्यार्थीहरूले उक्त पालिकाका प्रमुख भुपेन्द्र कुमार लावती , न्यायिक समितिकी संयोजक तथा उप प्रमुख कृष्ण कुमारी निरौला पोख्रेल सहितका जनप्रतिनिधिहरुसित अन्तरक्रिया गरेका हुन् । अन्तरक्रियामा कक्षा १२ की छात्रा प्रभा दाहालले न्यायिक समितिमा वादी(प्रतिवादी बाहेक अरूले हेर्न पाउँदैनन् भन्ने जिज्ञासा राख्दा, निमा चेम्जोङ र मिमोसा तामाङले न्यायिक समितिले विवादहरू कसरी निरूपण तथा सम्पादन गर्छ भन्ने बारे प्रश्न गरेका थिए । अन्तरक्रियामा सवालहरूको जवाफहरू दिदै लेटाङ नगरकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक कृष्ण कुमारी निरौला पोख्रेलले विद्यार्थीहरूलाई न्याय सम्पादन , प्रक्रिया र विधिहरूका बारेमा अवगत गराउनुभएको थियो । सोहि अवसरमा प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीले कानुनी जटिलताहरूका विषयमा चर्चा गर्नु भएको थियो । सोहि क्रममा कक्षा –११ का विद्यार्थीहरूले इजालसमा कसरी न्याय सम्पादन हुन्छ भन्ने प्रत्यक्ष अवलोकन गरेका थिए । न्यायिक निरूपणमा संयोजक जितबहादुर लामा , सदस्य परशुराम निरौला र परामर्शकर्ता शारदा राईको समेत सहभागिता रहेको थियो । उक्त अवसरमा लेटाङ्ग नगरपालिकाका योजना प्रमुख चेतनाथ गौतम , न्यायिक समितिका सदस्य मुना सार्की र न्यायिक संयोजक नवीन लिम्बु समेतको सहभागिता रहेको पञ्चायत माविका प्रतिनिधि शिक्षक भुमि प्रसाद पाठकले बताउनुभयो ।


