इटहरी । मोरङ्गको पथरी शनिश्चरे वडा नं १ मा रहेको श्री अन्नपूर्ण माध्यमिक विद्यालयले आफ्नो ३४ औँ अभिभावक दिवस तथा वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । विद्यालयले बिहीबार आफ्नै प्राङ्गणमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो । पथरी शनिश्चरे वडा नं १ का वडा अध्यक्ष भीम कुमार राईको प्रमुख आतिथ्यता र विद्यालयका निर्देशक मदन बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वीरेन्द्र गुरुङले विद्यालयको आगामी शैक्षिक योजनाहरू प्रस्तुत गर्नुभएको थियो । प्रमुख अतिथि राईले ब्यानर पढेर र दीप प्रज्वलन गरेर उद्घाटन भएको उक्त कार्यक्रममा विभिन्न तह र कक्षाका बालबालिकाहरूले सुन्दर सांस्कृतिक नृत्यहरू प्रस्तुत गरेका थिए । सोहि अवसरमा विद्यालयमा दुई दशक भन्दा बढी शिक्षण सेवा गरी अवकाश लिनुभएका पूर्व शिक्षक तुलसीराम तिम्सिनालाई दोसल्ला ओडाएर सम्मानित गरिएको थियो । यसैगरी, विभिन्न विधामा विजयी विद्यार्थीहरूलाई मेडल , प्रमाणपत्र सहित पुरस्कृत समेत गरिएको थियो । उक्त अवसरमा पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकीले ३४ वर्ष अघिदेखि शैक्षिक क्षेत्रमा ठूलो योगदान पुर्याएर शैक्षिक गुणस्तर हासिल गरेको भन्दै प्रशंसा गर्नुभयो । सोही अवसरमा प्रमुख अतिथि वडाध्यक्ष भीम कुमार राईले यस विद्यालयबाट अध्ययन गरी देशका विभिन्न जिम्मेवार स्थानमा पुगेर आफूलाई अब्बल साबित गरेको र असल नागरिकको रुपमा स्थापित गरेको भन्दै प्रशंसा गर्नुभयो । नगर प्याब्सन पथरी शनिश्चरेका अध्यक्ष सन्तोष बस्नेत, विद्यालय सञ्चालक भम्पर थापा, विद्यालयका संयोजक सुरेश थापा, शिक्षक अभिभावक सङ्घकी अध्यक्ष हेम बहादुर श्रेष्ठ, तथा सदस्यहरू क्रमशः जेसिका बस्नेत, कला मगर , लगायतको उपस्थिति रहेको थियो ।


