इटहरी । इटहरी स्थित यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन अनिवार्य स्वास्थ्य परीक्षणका नाममा अनियमितता भएको उजुरी परेपछि छानविन प्रक्रिया सुरु भएको छ । स्वास्थ्य परीक्षणका लागि निशुल्क व्यवस्था हुँदाहुँदै पनि अन्य निकायलाई जिम्मेवारी दिइएको र केही चिकित्सकहरूले नियम विपरीत कार्य गरेको आरोप लगाइएको छ । प्रदेश सरकारले सूचीकृत मार्फत अन्य स्वास्थ्य संस्थालाई समेत परीक्षणको जिम्मा दिएको थियो । तर, डॉ. रुपेश कुमार यादव, डॉ. सरोज कुमार मण्डल र डॉ. सुदिप लेखी विरुद्ध मापदण्ड विपरीत कार्य गरेको भन्दै उजुरी परेको छ । उजुरी परेपछि यातायात व्यवस्था कार्यालय इटहरीले कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई पत्राचार गरेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, सुनसरीका अध्यक्ष होमनाथ धमलाले बताउनुभयो । यातायात व्यवस्था कार्यालय इटहरीका प्रमुख सतिस सत्यालले मन्त्रालयले विषयको गम्भीरता बुझेर छानविन प्रक्रिया अघि बढाइसकेको जानकारी दिनुभयो । सम्बन्धित निकायले सत्यतथ्य पत्ता लगाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।


