इटहरी । अल्टिट्युड क्लबको आयोजनामा सुनसरीको रामधुनी नगरपालिका–७, पञ्चायन खेलमैदानमा जारी दोस्रो अल्टिट्युड रनिङ कप खुल्ला फुटबल प्रतियोगितामा तालतलैया फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा बेतना युनाइटेड मोरङ र तालतलैया फुटबल क्लबबीचको प्रतिस्पर्धा १–१ गोलको बराबरीमा सकिएपछि, तालतलैयाले पेनाल्टी सुटआउटमा जित हासिल गर्दै फाइनल यात्रा तय गरेको हो । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पशुराम बस्नेतले प्रतियोगिताको उद्घाटन गर्दै खेलाडीहरूलाई विकसित मुलुकमा जस्तै सम्मानित जीवन जिउनका लागि आवश्यक सेवा–सुविधा प्रदान गर्न प्रदेश सरकार र प्रदेश खेलकुद विकास बोर्ड प्रतिबद्ध रहेको बताउनुभयो । यसैगरी फागुन १७ गते हुने खेलमा सुनसरी तालतलैया फुटबल क्लव र लेटाङ्ग फुटबल क्लव बिच फाइनल खेलका लागि प्रतिशपर्धा हुने महासचिव नविन खतिवडाले बताउनुभयो । प्रतियोगितामा विजेता टिमलाई २ लाख २२ हजार २ सय २२ नगद, १५ तोला चाँदीको सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेता टिमले १ लाख ११ हजार १ सय ११ रूपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । खेलकुद सँगै पञ्ंचायन सिमसार, जुडी सिमसार, रासताल, शंखरवेलि ताल लगायतका पर्यटकीय स्थलहरूको प्रवद्र्धन गर्दै स्थानीय जातीय, सांस्कृतिक, धार्मिक र मौलिक कला–संस्कृतिलाई उजागर गरिने क्लबका अध्यक्ष पिताम्बर तिमिल्सिनाले बताउनु भयो । यस्ता प्रतियोगिताले नेपालका युवा खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढ्ने अवसर प्रदान र खेलकुदसँगै स्थानीय पर्यटन र व्यवसाय प्रवद्र्धनमा समेत टेवा पुग्ने कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पशुराम बस्नेतले बताउनु भयो । कोशी प्रदेशका विभिन्न १० फुटबल टिमहरूले प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् ।


