इटहरी । हरिनगर गाउँपालिका भुटाहामा पालिका स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८१ सम्पन्न भएको छ । हरिनगर स्पोट्र्स क्लबको आयोजना तथा नेपाल खेलकुद महासङ्घ सुनसरीको संयोजनमा भएको प्रतियोगितामा मोरङ र सुनसरीका आठवटा पालिकाको टिम सहभागी भएका थिए । हरिनगर स्पोट्र्स क्लबका अध्यक्ष मेराज अन्सारीको अध्यक्षता तथा कोशी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री रामप्रसाद मेहताको प्रमुख आतिथ्यतामा सुरु भएको थियो । फाइनल खेलमा सुनसरी समाज कल्याण इनरुवा र तुफान फुटबल क्लब भोक्राहा सुनसरी बीच प्रतिस्पर्धा भएको थियो । निर्धारित समय सम्म खेल बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा सुनसरी समाज कल्याण इनरुवाले तुफान फुटबल क्लबलाई पराजित गर्दै उपाधि हात पारेको हो । विजेता टोली सुनसरी समाज कल्याण इनरुवा–१० जल्पापुरले नगद ३१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता तुफान फुटबल क्लब, सोन्याइले नगद २१ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सुनसरीका ८ टिमको सहभागिता रहेको प्रतियोगितामा नेपाल खेलकुद महासङ्घ सुनसरी अध्यक्ष विकल पौडेल, हरिनगर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष प्रविण प्रसाद गुप्ता, आगमन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कैस सना अन्सारी, बालकृष्ण माविका प्रधानाध्यापक नजा मुद्दिन अन्सारी, नेकपा एमाले जिल्ला सचिवालय सदस्य मोहन प्रसाद यादव, प्रेस चौतारी सुनसरी सचिव सुदीप पोखरेल, हाजि तफज्जुल अन्सारी, प्रवेश आलम अन्सारी, अजित कुमार मल्लिक लगायत स्थानीय खेलाडी खेलप्रेमी समाजसेवी बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।


