इटहरी । भोजपुरको पश्चिमी क्षेत्र टेम्केमैयुङ–९ लेखर्कका स्थानीयवासी व्यावसायिक मौरीपालनमा जुटेका छन् । मौरीपालनसम्बन्धी प्राविधिकसँगै आधुनिक ज्ञान पाएपछि परम्परागत रूपमा मौरीपालन गरिरहेका किसान आधुनिक मौरीपालनमा जुटेका हुन् । आधुनिक मौरीपालनको विषयमा आवश्यक ज्ञान दिएर व्यावसायिक मौरीपालनमा लाग्न वडाले आवश्यक सहयोग गरेपछि सहजता भएको स्थानीयको भनाइ छ । यहाँ मौरीको प्रशस्त सम्भावना रहेकाले किसानलाई व्यावसायिक मौरीपालनमा लाग्न वडाले आवश्यक ज्ञान, सीप दिँदै आएको छ । मौरीसम्बन्धी आवश्यक तालिम पाएपछि व्यावसायिक मौरीपालनमा लाग्न सहजता भएको स्थानीय मौरीपालक किसान माधवप्रसाद चौलागाईँले बताउनुभयो । विगतमा परम्परागत मुढेघारमा मौरीपालन गरिरहेको भए पनि अहिले आधुनिक घारमा मौरीपालन थालेको उहाँले जानकारी दिनुभयो । दुई चरणको तालिममा सहभागी भएसँगै आफँैले आधुनिक घार निर्माण गर्न सक्ने सीप हासिल गरेको उहाँको भनाइ छ । मौरीपालनसम्बन्धी तालिम पाएपछि व्यावसायिक रूपमा लाग्न टेवा पुगेको स्थानीयवासी अमृत राईले बताउनुभयोे । आधुनिक रूपमा मौरीपालन गरेर आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने उहाँको भनाइ छ । तालिमका क्रममा मौरीपालनसम्बन्धी आवश्यक ज्ञान पाएको उहाँले बताउनुभयो । आफूसँगै अहिले १५ घार मौरी रहेको उहाँले जानकारी दिनुभयो । घरेलु तथा साना उद्योग कार्यालय र वडाको पहलमा २० जना मौरीपालक किसानलाई आवश्यक प्राविधिक ज्ञानसँगै आधुनिक मौरीघार निर्माणको तालिम दिइएको हो । यहाँका अधिकांश किसानले परम्परागत रूपमा मौरीपालन गरिरहेकाले उनीहरूलाई आधुनिक मौरीपालनमा जोड्न वडाले आवश्यक काम गरिरहेको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताउनुभयो । खेतबारीमा रासायनिक मल प्रयोगका कारण मौरी मासिने खतरा बढेकाले रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्नमा स्थानीयले ध्यान दिनुपर्ने उहाँको भनाइ छ । वडाले क्रमशः रासायनिक मलको प्रयोग न्यूनीकरण गर्नमा भूमिका खेलिरहेको उहाँले जानकारी दिनुभयो । पराम्परागत रूपमा हुँदै आएको मौरीपालनलाई आधुनिक प्रविधिमा जोड्न तालिमले सहयोग पुग्ने उहाँको भनाइ छ । मौरीपालक किसानलाई लक्षित गरेर आफ्नो वडामा दुई चरणको तालिम सञ्चालन गरिएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालयमार्फत वडाको पहलमा किसानलाई तालिम दिइएको हो । वडाका चार सय ६९ घरपरिवारमध्ये दुई सय ५० बढी किसानले मौरीपालन गरिरहेको वडाध्यक्ष माङ्गपाहाङ्गले बताउनुभयो । मौरीपालन किसानलाई लक्षित गरेर २१ दिनसम्म सञ्चालन गरिएको तालिममा मौरीको आधुनिक घार निर्माण, माटेघार निर्माण, कृत्रिम रानी बनाउने, एक घारबाट अर्को घारमा मौरी स्थानन्तरण गर्ने, चिसो र झरीको मौसममा मौरीलाई कसरी बचाउनेलगायत प्राविधिक ज्ञान प्रदान गरिएको प्रशिक्षक जीवनाथ बरालले जानकारी दिनुभयो । सहभागी २० अगुवा किसानलाई अभ्यास गराएर सीप प्रदान गरिएको उहाँको भनाइ छ ।


