इटहरी । मोरङको मिक्लाजुङ गाउँपालिकाको आयोजनामा तथा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरको प्राविधिक सहयोगमा  सोमबार मधुमल्ला अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सोमबार बिहान १० बजेदेखि सञ्चालन भएको शिविरमा ३ सय ४६ जनाले स्वास्थ्य सेवा लिएका थिए भने ६३ जनालाई थप उपचारका लागि नोबेल हस्पिटल, विराटनगर रिफर गरिएको थियो । मिक्लाजुङ गाउँपालिकाका स्वास्थ्य प्रमुख चिन्तामणि पोखरेलले अधिकांश रिफर गरिएका बिरामीहरू नाक, कान, घाँटी तथा आँखा रोगका बिरामी भएको बताउनुभयो । स्वास्थ्य शिविरमा स्त्रीरोग, जनरल मेडिसिन, नाक–कान–घाँटी, हाडजोर्नी, नसारोग, आँखा जाँच, बालरोग, रेडियोलोजी, क्यान्सर, ल्याब परीक्षण, मुटु जाँच, दन्त रोग तथा सर्जिकल सेवाहरू प्रदान गरिएको थियो । शिविरको उद्घाटन कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबि कुमार राईले नोबेल हस्पिटलका सम्पूर्ण चिकित्सक तथा टिमलाई धन्यवाद व्यक्त गर्दै ग्रामीण भेगमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नु प्रशंसनीय कार्य भएको बताउनभयो । साथै, नोबेल हस्पिटलका सञ्चालक डा. सुनिल शर्मालाई समेत उहाँले निरन्तर सहयोगका लागि आभार व्यक्त गर्नुभयो ।