इटहरी | इटहरी उपमहानगरपालिका–२० का वडा सदस्य बहादुर तामाङको नेतृत्वमा इटहरी उपमहानगरपालिकाको तरहरा रनद्वारा आयोजित दोस्रो १० के रन प्रतियोगितालाई सफल बनाउन १ लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ। स्थानीय व्यवसायी साथीहरू र विदेशमा हुने साथीहरूबाट संकलन गरिएको हो। रनको तयारी तिव्र पारिको छ ।

फागुन २४ गते शनिबार हुने यो दौड प्रतियोगितामा २२ सयभन्दा बढी धावक सहभागी हुनेछन्। प्रतियोगितामा कोशी प्रदेशका विभिन्न स्थानका साथै भारतको सिक्किम, दार्जिलिङ, मिरिकलगायतका स्थानबाट धावकहरूको सहभागिता रहनेछ।

प्रतियोगिता विभिन्न आठ विधामा सञ्चालन हुनेछ। १२ वर्षभन्दा कम उमेरका बालबालिकाले ३ किलोमिटर दौड, १६ वर्षभन्दा कम उमेर समूहका खेलाडीहरूले १० किलोमिटर दौड पूरा गर्नेछन्। १६ देखि ४० वर्ष उमेर समूहका धावकहरूका लागि १० किलोमिटर दौड, त्यस्तै ४० देखि ६० वर्ष, ६० देखि ७५ वर्ष उमेर समूहका धावकहरूले पनि १० किलोमिटर दूरी पूरा गर्नुपर्नेछ। प्रतियोगितामा स्पाइनल इन्जुरी भएका खेलाडीहरूका लागि १ किलोमिटर दौड, गृहिणी तथा पारिवारिक रमाइलो दौड ३ किलोमिटर तथा विदेशमा रहेका नेपालीहरूका लागि १० किलोमिटर दौड पनि समावेश गरिएको छ।

विजेताहरूलाई नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। दौडमा सहभागी सबै खेलाडीलाई प्रमाणपत्र र मेडल दिइने आयोजकले जनाएको छ। प्रतियोगिता संयोजक मीनकुमार खवासका अनुसार, इटहरीको पहिचान झल्किने गरी विशेष मेडल तयार गरिएको छ। प्रतियोगिताको आयोजनाका लागि करिब १९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जसमा सहभागी शुल्कबाट ८ लाख ८० हजार, इटहरी उपमहानगरपालिकाबाट ३ लाख रुपैयाँ र बाँकी विभिन्न स्रोतहरूबाट संकलन गरिनेछ।

दौड प्रतियोगिता तरहरा चोकबाट सुरू भई ब्रम्हपुर, अमाहा हुँदै इटहरी वडा नं १ को वडा कार्यालय नजिकैबाट आँपगाछी निस्किएर पुनः तरहरा चोकमै टुंगिने रुट तय गरिएको छ। आयोजक सचिव जीवन गिरीका अनुसार, प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको छ, र दर्ता प्रक्रिया जारी छ। प्रतियोगिताको मुख्य उद्देश्य खेलाडीहरूको पहिचान, संरक्षण तथा समाजलाई खेलकुदसँग जोड्नु रहेको आयोजकले जनाएको छ।