इटहरी । सूर्योदय नगरपालिकाले क्यान्सर रोगको जोखिम हुन नदिन विषादी प्रयोगमा कडाइ गर्न थालेको छ । नगरका किसानले तरकारीलगायत अन्य बालीमा विषादीको मात्रा बढाउन थालेपछि नगरपालिकाले कडाइ गर्न थालेको हो । नगरपालिकाले अर्ग्यानिक चिया उत्पादन अभियान नै सञ्चालन गर्न किसानलाई प्रोत्साह गरिराखेको छ । नगरपालिकाले गत दुई आर्थिक बर्षमा विपन्न नागरिक सहायता कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवाका लागि आर्थिक सहयोगमा लागि सिफारिस गरिएका बिरामीहरुमध्ये सबैभन्दा बढी क्यान्सर रोगी देखिएका छन् । आब २०७९र०८० मा सिफारिस गरिएका ५७ जना बिरामीमध्ये सबैभन्दा बढी ४० जना क्यान्सर पीडित थिए भने मिर्गौलाका १० र मुटुका ७ बिरामी थिए । त्यसैगरी गत आबमा यो तथ्याङ्क वृद्धि भएर कुल सिफारिस सङ्ख्या ८२ पुग्यो । सो तथ्याङ्कमा पनि क्यान्सरका सबैभन्दा बढी ५० बिरामी छन् । त्यसैगरी मिर्गौलाका २०, मुटुका ३ र टाउकोमा चोट भएका ३ जनाको स्वास्थ्य सेवाका लागि सिफारिस गरिएको सूर्योदय नगरपालिका स्वास्थ्य शाखाका प्रमुख विपुल अधिकारीले जानकारी दिनुभएको छ । चालु वर्षमा यो तथ्याङ्क अझ वृद्धि हुने अनुमान छ । यी त नगरपालिकामा स्वास्थ्य सेवा पाउन माग गर्दै पेश भएका निवेदनका आधारमा उपलब्ध तथ्याङ्क मात्र हो । यस बाहेक पालिकाको सम्पर्कमा नआएर उपचार गरिरहेका वा ज्यान गुमाएका क्यान्सर पीडित धेरै छन् ।
सबैमा क्यान्सर रोगको कारण चियाको बिषादी मात्र नभएपनि अधिकांश कारण भने बिषादी नै भएको हुनसक्ने सूर्योदय–८ का वडाध्यक्ष जङ्ग गुरुङ्गले बताउनुभयो । वडाध्यक्ष गुरुङ्ले यसवर्ष आफ्नो वडालाई अर्ग्यानिक वडा घोषणा गर्नेगरी काम थालिएको बताउनुभयो । पहिलो चरणमा किसान, चिया उद्योगी, व्यापारी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, टोल विकास, बालि बिमा कम्पनीका प्रतिनिधि लगायतसँग बसेर वडाले छलफल चलाएको बताउँदै वडाध्यक्ष गुरुङ्ले अब टोलटोलमा पुगेर किसानसँग सचेतनामूलक कार्यक्रम गरिने साथै उनीहरुलाई अग्र्यानिक उत्पादन सम्बन्धी तालिम र अन्य कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । सूर्योदयमा उत्पादन हुने सबै चिया विषादीयुक्त छन् भन्ने होइन । कतिपय चिया बगान अग्र्यानिक पनि छन् । सूर्योदय–९ ढोडेका रामप्रसाद राईले चियाको प्राङ्गारिक खेती सुरु गर्नुभएको ६ वर्ष भयो । उहाँको १६ रोपनी क्षेत्रफलमा फैलिएको चिया बगानबाट दैनिक ८० किलो उत्पादन हुन्छ । राईमात्र होइन साङपाङ टोल ढोडेका सबै किसानले रासायनिक मलको प्रयोग छाडेर गाई–बाख्राको मल प्रयोग गरिरहेका छन् । यो टोलका विनोद मोक्तान, विमल, सुशीला, रामप्रसाद, पूर्ण र तारा राईका परिवार बिहानसाँझ चियाको गोडमेल, मलजल, सिँचाइ र टिपाइमा व्यस्त हुन्छन् । बेलामा पानी नपरेकाले केही ढिलो भए पनि यस वर्षको टिपाइ चैत पहिलो साताबाट सुरु हुने मन बहादुरले बताउनुभयो ।
उहाँका अनुसार, हरियो चिया उत्पादनको उर्वर समय चैतदेखि असोजसम्मको ६ महिना हो । क्यान्सरले नागरिकको ज्यान लैजाने र उत्पादन गुणस्तरीय नहुँदा विश्व बजारमा निर्यात नहुने भएपछि नगरपालिकाले प्राङ्गारिक चिया उत्पादनको अभियान चलाइरहेको हो । ६ वर्षअघि नै चियाको कार्यविधि बनाएर न्यूनतम समर्थन मूल्य तोकेको सूर्योदयमा चियाको टिपाइ सुधार हुन नसक्दा भारतलगायत मुलुकमा नेपाली चिया बिक्रीमा समस्या छ । चियाको टिपाइ सुधार गर्न भन्दै नगरपालिकाले गतबर्ष तीन सय किसानलाई चिया टिप्ने हाते मेसिन वितरण गर्यो । नगरपालिकाको दीर्घकालीन सोचको नारा नै ‘सूर्योदय नगरपालिकाको समृद्धि, प्राङ्गारिक कृषि पर्यापर्यटन र आर्थिक समानता’ भन्ने रहेको छ । २०७५ साउन १ गते नै निषेधित विषादी मुक्त पालिका घोषणा गरी सबै १४ वडाका दुई सय ५२ टोलमा सचेतना कार्यक्रम भइसकेको नगर आर्थिक विकास समितिका संयोजक देवेन्द्र आचार्यले बताउनुभयो । नगरपालिकाले चियाबाट नै आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । कार्यविधि बनाएर गुणस्तर सुधार गर्न लागिपरेको सूर्योदयले चियामा विषादीको प्रयोग रोक्न नसक्दा आलेचना खेप्नुपरिरहेको छ । अर्कातिर किसानलाई प्राङ्गारिक खेतीमा आकर्षित गर्न अनुदानको कार्यक्रम छैन । प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले प्रदेश र सङ्घले चिया सुधार गर्न लगानी नगर्दा स्थानीय सरकार मर्कामा परेको बताउनुभयो । नेपाली चियाको अन्तरराष्ट्रिय ‘ब्रान्डिङ’ प्रवद्र्धनका लागि सहयोग, साना किसानका लागि हरियो पत्ती उत्पादनका आधारमा उखुमा जस्तै अनुदान दिनुपर्ने माग उद्योगीले गरेका छन् । उद्योगी उदय चापागाईंले कृषिका अन्य क्षेत्रमा जस्तै चियामा अनुदान दिन सरकारले कञ्जुस्याइँ गर्ने गरेको बताउनुभयो ।
‘चिया क्षेत्रको समस्यामा दिगो समाधान खोज्न किसानलाई सहुलियत दिनुपर्छ । नेपालमा उत्पादित ५५ लाख तयारी अर्थोडक्स चियामध्ये तीन लाख किलोमात्र अर्ग्यानिक रहेको तथ्याङ्क छ । सूर्योदय नगरपालिकामा ६२ भन्दा बढी चिया प्रशोधन उद्योग छन् । तीमध्ये सूर्योदय टी एसोसिएसनमा ५२ वटा उद्योग आबद्ध छन् । यहाँ तीन हजार हाराहारी किसानको हरियो चियापत्ती प्रशोधन गरिन्छ । यहाँका उद्योगमा सूर्योदय नगरपालिकाको मात्र होइन माइजोगमाई, रोङलगायत किसानले उत्पादन गरेको हरियो पत्ती प्रशोधनका लागि पुग्ने गरेको छ । यहाँको तयारी चिया भारतसहितका तेस्रो मुलुकसम्म पुग्ने गरेको छ । नेपालमा १२ हजार ६६ हेक्टरमा चियाखेती हुँदै आएको छ । देशभरमै बढी चिया उत्पादन हुने जिल्ला इलाम हो । यहाँ ६ हजार नौ सय ९५ बगान रहेका छन् । सूर्योदय नगरपालिका चियाको राजधानीका रूपमा पनि परिचित छ । देशभरका ११ हजार ४१ बगानबाट १० करोड ८० हजार किलो हरियो पत्ती उत्पादन हुनेगरेको बगान सञ्चालकहरूले बताएका छन् ।


