इटहरी | इटहरीमा शनिबार सम्पन्न दोस्रो तरहरा अर्गानिक १० किलोमिटर खुल्ला दौड प्रतियोगितामा दुई हजारभन्दा बढी धावकले भाग लिए। स्थानीय खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताले धावकहरूलाई प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्दै स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गरेको छ। प्रतियोगिता तरहरा रनको आयोजनामा सम्पन्न भएको हो, जसमा विभिन्न उमेर समूह तथा वर्गका धावकहरूले आफ्नो क्षमताको प्रदर्शन गरे।
प्रतियोगिताको औपचारिक उद्घाटन इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल र वडा नं. २० का अध्यक्ष मणिराम श्रेष्ठले गरे। उनीहरूले इटहरी र आसपासका क्षेत्रमा खेलकुद गतिविधिलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस्ता प्रतियोगिताहरूले खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने बताए।
पुरुष खुल्ला १० किलोमिटर दौडमा केन्याली धावक जुलियस मुरिकिले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरे। उनले ३१ मिनेट ७ सेकेन्डमा दौड पूरा गरे र नगद ३० हजार रुपैयाँसहित मेडल प्राप्त गरे। नेपाली धावक गजेन्द्र राईले ३२ मिनेट ७ सेकेन्डमा दोस्रो स्थान हासिल गरे भने सरोज लिम्बुले ३२ मिनेट ९ सेकेन्डमा तेस्रो स्थान हात पारे। गजेन्द्रले नगद २० हजार र सरोजले १० हजार रुपैयाँसहित मेडल प्राप्त गरे।
महिला खुल्ला १० किलोमिटर दौडमा पूर्व लक्ष्मीले ३८ मिनेट १० सेकेन्डमा दौड पूरा गर्दै प्रथम स्थान हात पारिन्। उनले नगद ३० हजार रुपैयाँसहित मेडल प्राप्त गरिन्। सुनकला राईले ४७ मिनेट २० सेकेन्डमा दौड पूरा गर्दै दोस्रो स्थान हात पारिन् भने दिक्षा राईले ५० मिनेट २० सेकेन्डमा तेस्रो स्थान प्राप्त गरिन्। दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे।
१२ वर्षमुनिका बालबालिकाहरूको दौडमा पनि निकै प्रतिस्पर्धा देखियो। महिला ३ किलोमिटर दौडमा रेशमा दर्जी प्रथम, करिना राई दोस्रो र स्वयता चौधरी तेस्रो स्थानमा रहे। उनीहरूले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार तथा मेडल प्राप्त गरे।
पुरुष १६ वर्षमुनि १० किलोमिटर दौडमा पवन राई पहिलो भए। श्यामतुम्मा राई दोस्रो भए भने रुपेश माझी तेस्रो स्थानमा रहे। उनीहरूले क्रमशः १० हजार, ७ हजार र ३ हजार नगद पुरस्कार जिते। महिलातर्फ जुही राई प्रथम, पूजा महतरा दोस्रो र विनिता राई तेस्रो स्थानमा रहे। उनीहरूलाई पनि नगद पुरस्कारसहित मेडल प्रदान गरियो।
प्रतियोगितामा भेट्रान धावकहरूको सहभागिता पनि उल्लेखनीय रह्यो। ६० वर्षभन्दा माथिका पुरुषहरूमा धरानका विजयकुमार अभियानले ३८ मिनेट २ सेकेन्डमा दूरी पार गर्दै प्रथम स्थान हासिल गरे। अभिनारायण अधिकारी दोस्रो र लरमान अधिकारी तेस्रो भए। उनीहरूले नगद ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार जिते। महिलातर्फ जमूना लिम्बुले पहिलो स्थान हात पारिन् भने कुसुम लिम्बु दोस्रो र कौशिला तामाङ तेस्रो स्थानमा रहिन्। उनीहरूलाई पनि नगद पुरस्कारसहित मेडल प्रदान गरियो।
यसपटकको दौड प्रतियोगितामा ह्वीलचेयर खेलाडीहरूको सहभागिताले विशेष आकर्षण ल्याएको थियो। पुरुषतर्फ सप्तरीका विष्णुकान्त चौधरी पहिलो, मोरङका नविराज राई दोस्रो र इटहरीका निराजन विक तेस्रो भए। महिलातर्फ मोरङकी रोशनी लामा पहिलो, विराटनगरकी चन्द्रिका सरदार दोस्रो र धरानकी प्रतिमा दाहाल तेस्रो स्थानमा रहे। दुवै समूहका विजेताहरूले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे।
दौड प्रतियोगिता तरहरा चोकबाट सुरु भई ब्रम्हपुर, भवानीपुर, अमाहा, कराइबन, इटहरी–१ को वडा कार्यालय नजिकैको आँपगाछी हुँदै पुनः तरहरा चोकमा आएर समापन भएको थियो। विजयी धावकहरूलाई इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, वडा नं. २० का अध्यक्ष मणिराम श्रेष्ठलगायतले पुरस्कार वितरण गरे। आयोजक समितिका सदस्यहरूले प्रतियोगिताको सफल आयोजनाका लागि सबै सहभागीहरू, प्रायोजकहरू तथा स्वयंसेवकहरूलाई धन्यवाद दिए। प्रतियोगिताले इटहरी र आसपासका क्षेत्रमा खेलकुद प्रवर्द्धन गर्ने मात्र नभई, स्थानीय खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरका धावकहरूसँग प्रतिस्पर्धा गर्ने अवसर पनि प्रदान गरेको आयोजकहरूको भनाइ छ।


