इटहरी । स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको पाथीभरा बहुमुखी क्याम्पस ताप्लेजुङमा सर्वसम्मत नेतृत्व चयन भएको छ । तिलकुमार जोगीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको हो । जोगी नेपाल विद्यार्थी सङ्घबाट हुनुहन्छ । यस्तै, सचिवमा अनेरास्ववियुका लक्ष्मण पौडेल सर्वसम्मत चयन हुनुभएको छ । कोषाध्यक्षमा अखिल क्रान्तिकारीका निकिता लिम्बू चयन हुनुभएको छ । सदस्यहरूमा नेविसङ्घका सौगात विष्ट, अखिल क्रान्तिकारीका शान्तिला गुरुङ र सुजन लिम्बू चयन हुनुभएको छ । यस्तै, सदस्यमा अनेरास्ववियुका सनुजा गौतम र विनु तामाङ सर्वसम्मत चयन हुनुभएको छ । निर्वाचन तालिकाअनुसार आज प्रत्यक्ष र समानुपातिकतर्फको मनोनयन दर्ता समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि तोकिएको थियो । समानुपातिकतर्फ नेविसङ्घ, अनेरास्ववियु, अनेरास्ववियू एस र अखिल क्रान्तिकारीबाट एक–एक जना सदस्य हुने बताइएको छ । स्ववियु निर्वाचनका लागि चार वटा सङ्गठन नेविसङ्घ, अनेरास्ववियु, अनेरास्ववियू एस र अखिल क्रान्तिकारीले सङ्गठन दर्ता गरेका थिए । त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ५ गते स्ववियु निर्वाचन हुनेभएको छ । तर निर्वाचन अघि नै ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा भने सर्वसम्मत स्ववियु समिति चयन भएको छ। त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुन लागेको छ ।