इटहरी | जनता बहुमुखी क्याम्पस इटहरीमा  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन कार्यक्रम स्थगित गरिएको छ।

निर्वाचन समितिले मङ्गलवार सूचना जारी गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि सम्पूर्ण निर्वाचन कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

निर्वाचन संयोजक सञ्जीवकुमार यादवद्वारा हस्ताक्षरित सूचनामा आगामी सूचना नआएसम्म निर्वाचनसम्बन्धी कुनै पनि कार्यक्रम सञ्चालन नहुने जनाइएको छ।

जनता बहुमुखी क्याम्पस अनेरास्ववियु कमिटीले निर्वाचन समितिले प्रकाशन गरेको मतदाता नामावलीमा असन्तुष्टि जनाउँदै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको थियो ।

तालाबन्दी गरेपछि बुधवार ताला खोल्न बैठक बसेको भए पनि सहमति नभएपछि स्ववियु निर्वाचन अनिश्चित बनेको हो ।

निर्वाचन कार्यक्रम स्थगित भएपछि विद्यार्थी तथा सरोकारवालाहरू अन्योलमा परेका छन्। यता चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा जनता बहुमुखी क्याम्पस इटहरीको स्ववियु अध्यक्ष पदका लागि अनेरास्ववियुको हेमराज खड्का(आदित्य)ले उम्मेदवारी घोषणा गरेका छन्  ।

 यस अघि पनि मतदाता नामावलीमा स्ववियु सभापतिका आकांक्षी (अनेरास्ववियु)का हेमराज खड्का (आदित्य)को नामावली समावेश नभएपछि तालाबन्दी गरिएको थियोे ।

(त्रिवि)ले माघ ११ भन्दा पछाडि भर्ना भएका विद्यार्थीलाई चुनावी प्रक्रियामा भाग लिन नपाउने निर्देशिका जारी गरेको थियो । सोअनुसार निर्वाचन समितिले आज (आइतबार) मतदाता नामावली प्रकाशित गरेको थियोे ।

अनेरास्ववियु सुनसरीका अध्यक्ष उज्वल सिग्देलका अनुसार निर्वाचन समितिले विद्यार्थी संगठनसँग छलफल नगरी मतदाता नामावली प्रकाशन गरेको र मतदाता नामावलीमा दुई सय ६ जना विद्यार्थीको नामावली समावेश नभएको भन्दै तालाबन्दी गर्न बाध्य भएको हो ।

‘क्याम्पस प्रशासनले फागुन १५ गतेसम्म भर्ना भएका विद्यार्थीलाई मताधिकार हुन्छ भनेअनुसार हामीले विद्यार्थीहरूको भर्ना लिएका थियौँ,’ सिग्देलले भने, ‘दुई सय ६ जना विद्यार्थी मताधिकारबाट वञ्चित हुने भएकाले अनेरास्ववियु निर्वाचनमा सहभागी हुँदैन । हामीले आज प्रकाशन भएको मतदाता नामावली च्यातेकै हो ।’

आइतबार सार्वजनिक भएको मतदाता नामावली आफूहरूले च्यातेको उनले स्वीकार गरे । ‘हामीले घोषणा गरेको उम्मेदवारको फागुन १५ गते भर्ना भएको हो, क्याम्पस प्रमुखले नै भर्ना हुन आउनुहोस् भनेपछि हामीले सबै विद्यार्थीको एकैपटक भर्ना गरेका थियौँ,’ उनले भने, ‘नामावली प्रकाशनपछि निर्वाचन समिति आफैँले तालाबन्दी गरेर हिँडेपछि हामीले तालाबन्दी गरेका छौँ ।’

नेपाल विद्यार्थी संघ (नेविसंघ) सुनसरीका सभापति प्रमोद भट्टराईले भने त्रिविको निर्देशिकाअनुसार नै निर्वाचन हुनुपर्ने बताए। नियम कानुन नमानेको नेविसंघले एकताबद्धता जनाउँदै  आएको छ ।