मोरङ | मोरङको धनपालथान गाउँपालिका वडा नं. ७ मा ५ गते भएको आगलागीबाट प्रभावित परिवारहरूलाई कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय विराटनगरले आवश्यक राहत सामग्री प्रदान गरेको छ। पीडित परिवारलाई खाद्यान्न, लत्ताकपडा तथा अस्थायी आश्रयका सामग्री उपलब्ध गराइएको छ।
गाउँपालिकाले १५ परिवारलाई लक्षित गरी प्रत्येकलाई २ थान ब्ल्यांकेट, १ बोरा चामल, २ के.जी. रहर दाल, २ लिटर तेल, १ पाकेट नुन तथा १ थान त्रिपाल वितरण गरेको छ। पीडितहरूले राहत सामग्री प्राप्त गरेपछि गाउँपालिकालाई धन्यवाद व्यक्त गर्दै थप सहयोगको अपेक्षा गरेका छन्।
स्थानीय प्रशासनका अनुसार आगलागीबाट ठूलो धनजनको क्षति भएको छ। गाउँपालिकाका प्रमुख तथा अन्य अधिकारीहरूले घटनास्थलको अवलोकन गर्दै पीडितहरूको पुनर्स्थापनाका लागि थप पहल गरिने बताएका छन्।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको प्रमुख आतिथ्यता तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश विराटनगरका उचसचिव कमलबहादुर थापाको अध्यक्षता राहत प्रदान गरिएको थियोे ।
राहत वितरणले पिडीतलाई ठुलो सहयोग भएको साथै आवश्यक परेको खण्डमा सहयोग गर्ने कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले बताउनुभयो ।
राहत वितरण कार्यक्रम गाउँपालिकाका प्रतिनिधिहरू, स्थानिय समाजसेवी तथा सुरक्षाकर्मीको उपस्थितिमा सम्पन्न भएको थियो। स्थानीयहरूका अनुसार आगलागी नियन्त्रणमा ल्याउन धेरै मेहनत गर्नुपरेको थियो।


