इटहरी | इटहरी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको साझा फुलबारी टोल विकास संस्थाको १०औं वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ।
शनिबार सम्पन्न साधारणसभामा संस्थाका अध्यक्ष विष्णु प्रसाद धमलाको अध्यक्षता रहेको थियो भने इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा विभिन्न टोल विकास संस्थाका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, स्थानीय समाजसेवी तथा बौद्धिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।
साधारणसभाको प्रमुख अतिथि उपमहानगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरीले स्थानीय विकासका लागि टोल विकास संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले साझा फुलबारी टोल विकास संस्थाले समुदायको हितमा विभिन्न कार्यक्रम गर्दै आएको उल्लेख गर्दै संस्थालाई आगामी दिनमा समेत आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो।
"स्थानीय विकासका लागि वडास्तरबाटै योजना बनाउनुपर्छ। समुदायले विकास निर्माणमा प्रत्यक्ष सहभागिता जनाए मात्र दिगो विकास सम्भव हुन्छ। टोल विकास संस्थाहरूले सही नीति, योजना र पारदर्शिताका साथ काम गर्नुपर्छ," उपप्रमुख चौधरीले बताउनुभयो।
संस्थाका अध्यक्ष विष्णु प्रसाद धमलाले साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उहाँले संस्थाले विगत एक वर्षमा गरेका कामहरूको विवरण प्रस्तुत गर्दै टोल सुधारका लागि थप योजनाहरू अघि सार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यस्तै, संस्थाका कोषाध्यक्ष लोकु माया दाहलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। उहाँका अनुसार संस्थाले विभिन्न कार्यक्रमहरूका लागि रकम संकलन र व्यवस्थापन गर्दै आएको छ। बचत, सहकारी प्रणाली तथा स्वयंसेवी कार्यक्रमहरू मार्फत टोल सुधारका प्रयासहरू भइरहेको उहाँले बताउनुभयो।
इटहरी उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रतन कार्की (कैलाश)ले विकास निर्माणका काममा टोल विकास संस्थाहरूको सहकार्य आवश्यक रहेको बताउनुभयो।
"हामीले वडास्तरबाटै योजना बनाएर काम गर्नुपर्छ। स्थानीय स्तरमा भएका विकास निर्माणका समस्याहरू समाधान गर्न टोल विकास संस्थाहरूको सहकार्य महत्त्वपूर्ण छ। साझा फुलबारी टोल विकास संस्थाले सही ढंगले योजना बनाएर अघि बढेमा नगरपालिकाले आवश्यक साथ र सहयोग प्रदान गर्नेछ," उहाँले बताउनुभयो।
इटहरी उपमहानगरपालिका टोल विकास संस्थाका प्रमुख महेश सुवेदीले कार्यक्रममा टोल विकास संस्थाहरूको नियम, कानुन, गतिविधिहरू, उद्देश्य र कार्यशैलीबारे जानकारी गराउनुभयो।
उहाँले टोल विकास संस्थाले स्थानीय विकासका लागि खेल्ने भूमिकाबारे प्रकाश पार्दै समुदायले कसरी संस्थाको सहयोग लिन सक्छ भन्ने विषयमा जानकारी दिनुभयो। "संस्थाहरूको उचित व्यवस्थापन भए मात्र समाज परिवर्तन सम्भव छ," सुवेदीले भन्नुभयो ।
साधारणसभाबाट संस्थाको नयाँ कार्यसमिति गठन गर्ने निर्णय पनि गरिएको छ। यसअघि कार्यरत पदाधिकारीहरूले संस्थाको लागि पुर्याएको योगदानको प्रशंसा गर्दै नयाँ नेतृत्वले संस्थालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा इटहरी वडा नम्बर १ का वडा सदस्य ज्ञानेन्द्र गौतम, हरिहर थारू, आदर्श टोल विकास संस्थाका अध्यक्ष नगेन्द्र प्रसाद रोइला लगायत विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय समाजसेवी तथा नगरवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
साझा फुलबारी टोल विकास संस्थाले विगतदेखि नै इटहरी वडा नम्बर १ को विकासका लागि विभिन्न योजनाहरू सञ्चालन गर्दै आएको छ। टोलमा सरसफाइ कार्यक्रम, सडक सुधार, सामाजिक सेवा, सचेतनामूलक कार्यक्रम, विपन्न परिवारलाई आर्थिक तथा खाद्य सहायता, बालबालिकाको शिक्षा प्रवर्द्धन, उद्यमशीलता प्रवर्द्धन जस्ता कार्यक्रमहरू गर्दै आएको छ।
संस्थाका अध्यक्ष विष्णु प्रसाद धमलाले समुदाय सुधारका लागि अझ प्रभावकारी कार्यक्रमहरू ल्याउने प्रतिबद्धता जनाउँदै टोल विकास संस्थालाई अझ व्यवस्थित रूपमा अघि बढाउने बताउनुभयो। "हामी सही योजना बनाएर अघि बढ्छौं, समुदायलाई प्रत्यक्ष फाइदा पुग्ने कामहरूलाई प्राथमिकता दिन्छौं," उहाँले भन्नुभयो।
१०औं वार्षिक साधारणसभाको सफल समापनसँगै साझा फुलबारी टोल विकास संस्थाले आगामी दिनमा झनै प्रभावकारी कार्यहरू गर्ने प्रतिबद्धता जनाएको छ। स्थानीय सरकारको साथ, समुदायको सहभागिता र संस्थाको सक्रियताले टोल विकासलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।


