इटहरी । साँगुरीगढी गाउँपालिका–५ डाँडाबजारमा वैशाख १७ गतेदेखि साँगुरीगढी चौथो डाँडाबजार गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ । आयोजक डाँडाबजार फुटबल क्लबले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी वैशाख १७ देखि २० गते सम्म साँगुरीगढी चौथो डाँडाबजार गोल्डकप हुन लागेको जानकारी दिएको हो। डाँडाबजार खेलमैदानमा आयोजना हुने प्रतियोगिताको विजेताले ३ लाख सहित ट्रफी र मेडल प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टिमले नगद १ लाख ५५ हजार रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक डाँडाबजार फुटबल क्लबले जनाएको छ । हरेक खेलमा म्यान अफ द म्याच पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै सर्वोत्कृष्ट खेलाडी र विधागत पुरस्कारको व्यवस्था समेत गरिएको छ। प्रतियोगितामा आयोजक डाँडाबजार फुटकल क्लब, धनकुटा कै चौविसेको रारा फुटबल क्लब, गाइघाट फुटबल क्लब उदयपुर सहित धनकुटा, मोरङ र सुनसरीका गरी ८ टिमको सहभागिता रहने अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिनुभयो । प्रतियोगितामा २२ लाख ७३ हजार ६ सय रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ। प्रतियोगितामा सहभागी टीमले फाइनल खेल बाहेक एक खेल खेले बराबर ३० हजार रुपैयाँ प्रदान गरिने भएको छ। प्रतियोगिताको लागि साँगुरीगढी गाउँपालिकाले ७ लाख, वडा नं. ५ कार्यालयले ३ लाख, जंगबहादुर थापा स्मृति प्रतिष्ठानले ३ लाख, डाडाबजार ब्रदर हुडले १ लाख रुपैयाँ सहयोग गरेका छन्। गतवर्ष प्रतियोगिताको विजेताले २ लाख ५० हजार र उपविजेताले १ लाख ५० हजार पुरस्कार पाएका थिए । गतवर्ष धरान फुटबल क्लब विजेता र तालतलैया फुटबल क्लब सुनसरी उपविजेता भएका थिए । पत्रकार सम्मेलनमा बोल्दै साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले गाउँपालिकाले हरेक वर्ष १ करोड बढी खेलमा लगानी गरि रहेको जानकारी दिनुभयो । उहाँले खेलकुदमा गरेको लगानी चाँडो प्रतिफल नदेखिने भएकाले समस्या भएको बताउँदै यस प्रतियोगितालाई आगामी वर्ष देखि रनिङ शिल्ड बनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।