धरान । २५ औं संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा १८ नं. वडा र ११ नं. वडा विजयी भएका छन् ।
धरानमा भइरहेको रात्रिकालिन प्रतियोगितामा १९ नं. वडा १८ नं. वडासँग स्तब्ध हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । २–१ ले अघि रहेको अवस्थामा अन्तिम मिनेटमा गोल खादै १९ नं. वडा विजयी हुनाबाट बञ्चित भयो । प्रबल राईले खेलको २३ औं मिनेटमा गोल गर्दै १८ नं. वडालाई सुरुवाती अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयमा प्रमेश राईको गोल मार्फत् वडा नं. १९ ले खेललाई बराबरीमा ल्यायो । खेलको ६१ औं मिनेटमा गोल अतित राईले १९ नं. वडाकालागी गोल गर्दै टोलीलाई २–१ गोल अन्तरको अग्रता बनाएका थिए । तर दोस्रो हाफको इन्जुरी समयमा १८ नं. वडाका सौनाक श्रेष्ठले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुगेको थियो । तत् पश्चात भएको टाइब्रेकरमा धरान–१८ ले ३–२ को स्थितिमा जित हासिल गर्दै प्रि क्वाटर फाइनलमा प्रवेश गरेको छ । १८ नं. वडाकालागी टाइब्रेकरमा निकेन राई, सौनक श्रेष्ठ र रोशन उराउले गोल गरे भने उज्वल राई र बिवेक परियारले गोल गर्न चुके । १९ नं. वडाकालागी सनम लिम्बू र इन्सन राईले मात्रै गोल गर्न सके । १९ नं. वडाका आयाम राई, अभिशेख राई र नाम्बाहाङ लिम्बूको प्रहार विपक्षि गोल किपर धिरज बस्नेतले रोकिदिएका थिए । उनै गोल किपर धिरज बस्नेत खेलको म्यान अफ द म्याच समेत चुनिए ।
त्यस्तै गरी सोमबार नै भएको दोस्रो खेलमा वडा नं. ११ ले वडा नं. ३ लाई ३–१ गोल अन्तरले पराजित गर्दै प्रि क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको छ । पराजित भएको ३ नं. वडा प्रतियोगिताबाट बाहिरिएको छ ।
खेलको सुरुवातमा ३ नं. वडाले अग्रता बनाएपनि त्यसलाई जोगाइराख्न नसक्दा पराजित हुन पर्यो । खेलको छैठौ मिनेटमा नै ३ नं. वडाका युनिक लिम्बूले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ अत्यन्तै राम्रो प्रदर्शन गरेको ३ नं. वडाले दोस्रो हाफमा लय गुमायो । ११ नं. वडालाई अफसाइड ट्रयापमा राख्दै दबाबमा राखेको ३ नं. वडाले दोस्रो हाफमा भने ३ गोल खान पुग्यो । ११ नं. वडाका पवन राईले दुई गोल गरे भने प्रविण राईले एक गोल गरे । खेलको म्यान अफ द म्याच ११ नं. वडाका पवन राई घोषित भए ।
भोली सोमबार पहिलो खेलमा साझ ५ः३० बजे १७ नं. वडाले २० नं. वडाको सामना गर्नेछ भने दोस्रो खेलमा साझ ७ः३० बजे ४ नं. वडा र १३ नं. वडा बीच खेल हुने आयोजकले जनाएको छ ।
चैत्र २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा धरानका १८ वटा वडा सहभागी छन् । २ नं. वडा र ७ नं.वडाले प्रतियोगितामा सहभागीता जनाउन सकेनन् । प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उप विजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगिताको क्वाटर फाइलनमा पुगेको टिमले स्व. सुवास राई स्मृति सुपर ८ प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्ने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए ।


