इटहरी । ताप्लेजुङको ओलाङचुङगोलामा सुख्खा बन्दरगाह निर्माण गर्नु पर्ने माग अघि सारिएको छ । नेपाल–चीन व्यापार प्रवर्द्धनका लागि सुख्खा बन्दरगाह निर्माण गर्न स्थानीयहरूले माग अघि सारेका हुन् । हाल उक्त नाकामा सडकको पहुँच भइसकेको र उत्तर दक्षिण सीमा जोडिने सबैभन्दा कम दुरीको सडक भएको हुँदा सो नाका सुख्खा बन्दरगाह निर्माण गर्न उचित हुने देखिएको फक्ताङलुङ गाउँपालिका ७ वडा अध्यक्ष छेतेन लामाले बताउनुभयो । उहाँले गत सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै सुख्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन ृडिपिआरे तयार गर्न आग्रह गर्नुभएको छ । ओलाङचुङगोलाको मवाटार क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण गर्नका लागि नेपाल इन्टर मोडल यातायात विकास समितिले मङ्गलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै आगामी आर्थिक वर्ष २०८२ र ८३ को नीति तथा कार्यक्रममा उक्त परियोजना समावेश गर्न आग्रह गरेको छ ।  नेपाल इन्टर मोडल यातायात विकास समितिले आर्थिक वर्ष २०७८ र ७९ मा सो नाकाको पूर्व सम्भाव्यता अध्ययन पूरा गरी प्राप्त प्रतिवेदन मन्त्रालयमा बुझाइसकेको जनाएको छ । साथै, फक्ताङलुङ गाउँपालिकाको ७ वडा कार्यालयले आवश्यक जग्गा उपलब्ध रहेको जानकारी दिँदै सुख्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० निर्माणका लागि अनुरोध गरेको छ ।