इटहरी । कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सम्पन्न भएको छ । बैठकमा कोशी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारी र प्रदेश सचिव रामप्रसाद आचार्यको उपस्थितिमा विपद् व्यवस्थापनका विभिन्न विषयमा छलफल गरिएको थियो । बैठकमा विपद् न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य तथा पुनःस्थापना सम्बन्धी योजनाहरूलाई प्रभावकारी बनाउने विषयमा गहन छलफल भएको थियो । मन्त्री भण्डारीले विपद् व्यवस्थापनका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको भन्दै सबै स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो । प्रदेश सचिव रामप्रसाद आचार्यले विपद् व्यवस्थापनलाई आधुनिक प्रविधिको सहायताले अझ प्रभावकारी बनाउने योजना अघि सारिएको बताउनुभयो । बैठकमा विपद् व्यवस्थापन सम्बन्धी विभिन्न सरोकारवालाबीच सहकार्य अभिवृद्धि गर्ने निर्णय समेत गरिएको छ । बैठकमा कोशी प्रदेशका सम्बन्धित निकायका उच्च अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।