इटहरी । मोरङको सुन्दरहरैँचा निवासी साहित्यकार पुरन याक्खा द्वारा लिखित दुई कृतिको एक साथ विमोचन गरिएको छ । सुन्दरहरैंचा ५ मा अवस्थित भानु साझा पुस्तकालयको सभा हलमा आयोजित कार्यक्रममा  ‘झुपडी’ (कथासङ्ग्रह) र ‘गर्भभित्र’ –कविता सङ्ग्रह) विमोचन गरिएको हो । वरिष्ठ साहित्यकार, भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको विमोचन कार्यक्रममा साहित्यकार याक्खाको कृतिमाथि कवि टीका आत्रेय र कवि बम देवानले समीक्षा गर्नुभएको थियो । कार्यक्रमका अध्यक्ष तथा साहित्यकार याक्खाले २०४८ रचिएको ‘गर्भभित्र’ (कवितासङ्ग्रह) २०८१ सालमा जन्मिएको बताउनुभयो । यति धेरै लामो समय गर्भभित्रै रहेको र बल्ल  ‘गर्भभित्र’ (कवितासङ्ग्रह) जन्मिएको बताउदै उहाँले सबै पाठकहरुले पढेर प्रतिक्रिया दिन आग्रह गर्नुभयो । यस्तै  ‘झुपडी’ (कथासङ्ग्रह) को पनि कथा उस्तै रहेको बताउनुभयो । आगामी दिनहरुमा पनि साहित्यलाई निरन्तरता दिंदै थप कृति प्रकाशित गर्ने तयारी रहेको बताउनुभयो । कार्यक्रममा कवि मनु मञ्जिल, लेखक तथा अनुसन्धाता केशु विरही, भानु साझा पुस्तकालयका पूर्व अध्यक्ष विरेश राई, सुकुना बहुमुखी क्याम्पसका पूर्व प्रमुख पीतकुमार श्रेष्ठ, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरे लगायतले शुभकामना दिनुभएको थियो ।