इटहरी । दिगो विकास निमित्त संस्थागत एकता, सफा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ इटहरी उपमहानगरपालिकामा प्लास्टिकजन्य फोहोर व्यवस्थापनसम्बन्धी बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानीय सरकार, सामाजिक संघसंस्था तथा सरोकारवाला पक्षहरूबीच छलफल गरी प्लास्टिकजन्य फोहोरको उचित व्यवस्थापनका लागि ठोस रणनीति तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । बालग्राम टोल विकास समिति, सेभेन स्टार क्लब इटहरी १७, जयलक्ष्मी दीप टोल विकास संस्था, र डेभलपमेन्ट कन्सल्टेन्सी एण्ड रिसर्च सेन्टर प्रा.लिको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा बालग्राम टोल विकास समितिका अध्यक्ष देवीप्रसाद भट्टराईको सभाध्यक्षता रहेको थियो भने इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेल प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएको थियो । कार्यक्रममा इटहरी उपमहानगरपालिकाका वातावरणविद् पुष्प नारायण चौधरीले प्लास्टिकजन्य फोहोर व्यवस्थापनका विभिन्न पक्षबारे जानकारी गराउँदै यस समस्याका कारणहरू, प्रभावहरू तथा समाधानका उपायबारे प्रकाश पार्नुभयो । कार्यक्रमको क्रममा प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा विशेष योगदान दिने कुलप्रसाद घिमिरेलाई सम्मानपत्र प्रदान गरियो । त्यस्तै, आइएमई को–अपरेटिभ सर्भिस लिमिटेडले वातावरणीय सुधारका लागि गरेको आर्थिक सहयोगको कदर गर्दै संस्थालाई प्रशंसा पत्र प्रदान गरिएको थियो । बालग्राम टोल विकास समितिका अध्यक्ष देवीप्रसाद भट्टराईले प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि यस प्रकारका कार्यक्रम आवश्यक रहेको र यसले नागरिक स्तरबाट पनि सरसफाइमा ध्यान दिने वातावरण सिर्जना गर्ने बताउनुभयो। इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले स्थानीय सरकारले फोहोर व्यवस्थापनलाई उच्च प्राथमिकता दिएको र यसमा सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा वेष्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्रालिका अध्यक्ष देशभक्त कार्की, इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारी, इटहरी वडा नम्बर ६ का वडा अध्यक्ष दिवश पोखरेल, वडा नम्बर १६ का वडा अध्यक्ष तेजनारायण चौधरी, वडा नम्बर १९ का वडा अध्यक्ष नारायण चौधरी, वडा नम्बर २० का वडा अध्यक्ष मणिपाल श्रेष्ठ लगायत विभिन्न वडाका प्रतिनिधिहरू, उद्योगी–व्यापारी, टोल विकास संस्थाका पदाधिकारीहरू, स्थानीय अभियन्ताहरू तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो ।