इटहरी । सहिद भीमनारायण गोल्डकपको १७ औँ संस्करण आइतबारबाट धनकुटामा सुरु भएको छ । धनकुटास्थित तल्लो टुँडिखेलमा भएको उद्घाटन खेलमा आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानलाई ३(१ गोलले हराउँदै सप्तरीको नमोबुद्ध युथ क्लब दोस्रो चरणमा प्रवेश गरेको छ । सप्तरीले पहिलो हाफमै तीन गोल गरेको थियो । सप्तरीको तर्फबाट निर्मल घिसिङ, मिक्सम दास र मोहित गुरुङले गोल गर्नुभयो । आयोजकको तर्फबाट दोस्रो हाफमा दिपेन शाक्यले गोल गर्नुभयो । प्रतियोगिता चैत्र २३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित पाँच लाख रुपियाँ र उपविजेताले दुई लाख ५० हजार रुपियाँ प्राप्त गर्ने छ । प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ ।


