इटहरी । नेकपा एमाले विराटनगर महानगर कमिटीले ११ चैत देखि सञ्चालन गरेको जागरण अभियान अन्तर्गत सरसफाई कार्यक्रम गरेको छ । विराटनगरको तीनपैनीमा भेला भएका नेकपा एमालेका नेता कार्यकर्ताहरुले सडकमा रहेको फोहोर उठाउँदै झाडु लगाएर सफा गरेका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्यहरु जीवन घिमिरे, रामलाल साह, नैनकला ओझा, प्रदेश कमिटी सदस्य एवम् विराटनगर महानगरका इन्चार्ज पर्शुराम बस्नेत, जिल्ला उपाध्यक्ष सागर थापा लगायतका नेताहरुको सहभागितामा भएको कार्यक्रममा विराटनगर महानगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको समेत उपस्थिती थियो । सरसफाई कार्यक्रम महानगरपालिकाको कार्यालय अघि पुगेर सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै विराटनगर महानगरका अध्यक्ष रोहित कोइरालाले पछिल्लो समय राजावादीको नाममा भइरहेका गतिविधि स्वीकार्य नहुने बताउनुभयो । उहाँले निकै ठूलो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक व्यवस्था भन्दा उत्तम ब्यवस्था अरु केहि हुनै नसक्ने भन्दै मरिसकेको राजतन्त्र ब्यूताउँने असफल प्रयासका साथ देशमा अशान्ति फैलाउन चाहनेहरुलाई परास्त गरि छाड्ने बताउनुभयो । कार्यक्रममा महानगरका सचिव बलराम गिरीले नेकपा एमाले रचनात्मक कृयाकलापका साथ जनताको घरहरुमा पुग्दै गइरहेको बताउनुभयो । उहाँले सोमबार दिउँसो १ बजे जनआन्दोलन चोकमा हुने जागरणसभामा हजारौंको सभागिता हुने गरि तयारी गरिएको समेत जानकारी दिनुभयो ।