इटहरी । तिनकुने घटनामा पत्रकारको ज्यान गएको विषय छानबिनको माग गर्दै नेपाल पत्रकार महासंघ सुनसरीले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएको छ । महासंघ सुनसरी अध्यक्ष सन्तोष काफ्ले सहितको टोलीले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रलाई ज्ञापनपत्र बुझाएको हो । प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालय पठाइएको ज्ञापनपत्रमा समाचार संकलनको क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको मृत्युलाई शंकास्पद भनिएको छ । राजाबादीको आन्दोलनको समाचार संकलनका क्रममा आगलागीमा परी ज्यान गुमाएका पत्रकार रजकको घटनालाई सूक्ष्म रुपमा अनुसन्धान गर्न पत्रकार महासंघ सुनसरीको माग छ । महासंघ सुनसरीले सरकार समक्ष पत्रकारहरुको सुरक्षा ग्यारेण्टीको माग समेत गरेको छ । ज्ञापनपत्र बुझाउँदै महासंघ सुनसरी अध्यक्ष सन्तोष काफ्लेले पत्रकार रजकको ज्यान गएको घटना निन्दनीय भएको बताउनुभयो । उहाँले घटनाको वास्तविकता पत्ता लगाई दोषीलाई कार्वाहीको दायरामा ल्याउन माग समेत गर्नुभयो । काफ्लेले पत्रकारमाथिको कुनैपनि किसिमको आक्रमण सह्यै नहुने बताउनुभयो । उहाँले पत्रकारहरुको सुरक्षामा सबै पक्ष जिम्मेबार हुन आवश्यक रहेको बताउनुभयो । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मिश्रले सुनसरीका पत्रकारहरुको शान्ति सुरक्षाको सवालमा प्रशासन सदैव साथमा रहेको बताउनुभयो । उहाँले समाचार संकलनको क्रममा भने संचारकर्मीहरुले सम्भावित घटना र अवस्थाको पूर्वानुमान गरेर रिर्पोटिङको कार्यलाई सुरक्षित बनाउन सुझाव दिनुभयो ।


