इटहरी । धनकुटामा जारी शहिद भीमनारायण गोल्कपकमा साविक विजेता विर्तामोड युनाइटेड क्लब विजयी भएको छ । मंगलबार धनकुटाको तल्लो टुँडिखेलमा सम्पन्न प्रतियोगिताको तेस्रो खेलमा चित्लाङ फुटबल क्लब काठमाडौंलाई ३–१ गोल अन्तरले पराजित गर्दै विर्तामोड युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको ४५ औं मिनेटमा विर्तामोड युनाइटेड क्लबका अभिषेक गुरुङले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ५८ औं मिनेटमा विशाल भण्डारी र खेलको ६३ औं मिनेटमा गिल्सन कन्दङ्वाले गोल गरेर विर्तामोड खेललाई ३–० अवस्थामा पुर्याएका थिए । यस्तै खेलको ७० औँ मिनेटमा चित्लाङ फुटबल क्लबको लागि विदेशी खेलाडी डोकुले सान्त्वना गोल गरे । चित्लाङ फुटबल क्लबले गोल गर्ने धेरै अवसर गुमाउँदा पराजित भएको हो । खेलको म्यन अफ द म्याच विजेता टिम विर्तामोडका कप्तान गिल्सन कन्दङ्वा घोषित भए । उनले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगिता अन्तरगत बुधबार विभागीय क्लब सशस्त्र प्रहरी बल काठमाडौ र बेलबारी फुटबल क्लब मोरङ बिच पहिलो चरणको अन्तिम खेल हुने आयोजकले जानएको छ। यस अघि नमोबुद्ध युथ फुटबल क्लब सप्तरी र गाईघाट फुटबल क्लब उदयपुर सेमिफाइनलमा पुगिसकेका छन् । चैत २३ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५ लाख रुपौयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ। प्रतियोगितामा जम्मा आठ टिमको सहभागिता रहेको छ । २०५५ सालमा स्थापित गोल्डकप २०६३ सालपछि नियमित हुँदै आएको छ । विराटनगरमा तत्कालीन राजा वीरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ परेका भीमनारायण श्रेष्ठलाई २०३५ सालमा गोलीहानी हत्या गरिएको थियो । सरकारले श्रेष्ठलाई २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।


