इटहरी। कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री भुपेन्द्र राईले असोज महिनामा अविरल वर्षा पछि आएको बाढीले पुल बगाएका खोला नालामा पुनः पुल निर्माणका लागि आफु प्रतिबद्व रहेको दोहोर्याउनु भएको छ । शनिबार बाढी प्रभावित जिल्ला पाँचथर आइपुग्नु भएका राईले फिदिम र फालेलुङलाई जोड्ने फेमे खोलामा तत्कालका लागि सङ्घीय सरकारले उपलब्ध गराउने बेलिब्रिज ल्याएर जोड्दै पक्की पुल निर्माणको प्रकृया अगाडि बढाउने बताउनुभयो । बाढीले क्षतिग्रस्त पुल पुनर्निर्माणका लागि प्रदेशभरका लागि ४० करोड रुपियाँ स्रोत सुनिश्चित गरेको पनि राईको भनाइ थियो । पर्याप्त बजेटसँगै स्रोत सुनिश्चित नहुँदा पनि पुल निर्माण ढिलाई भएको उहाँको भनाइ थियो । यसअघि बाढी आएलगत्तै अनुगमनमा आउनु भएका मन्त्री राईले तत्काल पुल निर्माण गर्ने प्रतिबद्वता जनाएर फर्कनु भएको थियो । त्यसको सात महिनापछि पुनः आउनुभएका राईले नेपाल प्रेस युनियन पाँचथर शाखाले फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै दोस्रो पटक पटक पुल बनाउने प्रतिबद्वता जनाउनुभएको हो ।


