इटहरी । सुनसरीको इनरुवा र इलामको माई नगरपालिकाले दोस्रो संस्करणको इटहरी मेयर कप अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । इटहरी ९ स्थित जनता क्रिकेट खेल मैदानमा शुक्रवार सम्पन्न पहिलो खेलमा इनरुवाले मोरङको बेलबारी नगरपालिकामाथि ७३ रनको फराकिलो जित निकाल्दै विजयी भएको हो । इनरुवाले प्रस्तुत गरेको १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको बेलबारी ७७ रनमा अलआउट भयो । बेलबारीका लागि निमेष चापागाईँले सर्वाधिक ३१ रन बनाए । २५ बलको सामना गरेका उनले ३ छक्का र २ चौकाको मतमा ३१ रन जोडे पनि टिमलाई जिताउन सकेनन् । इनरुवाका अभय मण्डलले ४ विकेट लिँदा मनिष मण्डल र सोनु मण्डलले २–२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इनरुवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५० रनको योगफल खडा गरेको थियो । इनरुवाको लागि सागर मोचीले अर्धशतकीय इनिङ खेले । ५० बलको सामना उरेका उनले ७ चौकाको मदतमा ५२ रन बनाए । सोनु मण्डलले ३६, प्रितम पोद्धार र आशिष मण्डलले समान १८–१८ रन बनाए । बेलबारीका प्रमित भगत र निमेष चापागाईँले २–२ विकेट लिए । खेलको म्यान अफ दि म्याच ४ विकेट लिएका इनरुवाका अभय मण्डल घोषित हुँदै नगद एक हजार पाँच सय पुरस्कार पाए । शुक्रबार नै सम्पन्न दोस्रो खेलमा इलामको माई नगरपालिकाले उदयपुरको त्रियुगा नगरपालिकालाई ३७ रनले पराजित गरेको छ । १८ वटा टिम सहभागी भएको प्रतियोगिताको विजेता टिमले नगद एक लाख र उपविजेता टिमले नगद ५० हजार प्राप्त गर्नेछ ।


