इटहरी । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका –१४ बुइपामा निर्माणाधीन किंराती प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमा सालिक सहितको यलम्बर पार्क उद्यान निर्माणको काम अन्तिम चरणमा छ । किंरात ऐतिहासिक एवम् पर्यटकीयस्थल बुइपास्थित पञ्चदोबाटोका ३० रोपनीभन्दा बढी सरकारी जग्गामा किंराती प्रथम राजा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको सालिक राख्नेगरी व्यवस्थित तथा आधुनिक पार्क निर्माणको काम सुरु गरिएको हो । माझ किंरात भनेर चिनिने खोटाङको किंरात ऐतिहासिक एवम् पर्यटकीयस्थल बुइपामा निर्माण सुरु गरिएको यलम्बरको सालिकको काम सम्पन्न भइसकेको छ भने पार्क निर्माणको काम तीव्र गतिमा भइरहेको छ । कोशी प्रदेश सरकारको ७० र नगरपालिकाको ३० प्रतिशत लगानी रहेको यलम्बर पार्क निर्माण आयोजनामा करिब १४ करोड लागतमा पूरा हुने विस्तृत परियोजना प्रतिवेदन डिपिआरमा उल्लेख छ । उमा–तुवाचुङ–अनसुवी जेभीले निर्माणको जिम्मा लिएको यलम्बर पार्कको काम ९५ प्रतिशत पूरा भएको ठेकेदार कम्पनीका प्रतिनिधि एवम् तुवाचुङ कस्न्ट्रक्शन प्रालिका प्रबन्ध निर्देशक सुनिल राईले जानकारी दिनुभएको छ । बुइपाका स्थानीयवासीको प्रमुख व्यापारिक केन्द्र ९हरेक हप्ताको शुक्रबार मेला लाग्ने ठाउँ० पञ्चदोबाटोमा निर्माणाधीन यलम्बर पार्कको प्रवेशद्धार, सुरक्षाकर्मी बस्ने ठाउँ, टिकट काट्ने ठाउँ, रेष्टुरेन्ट गृह र पसल सञ्चालन गृहको काम यसअघि नै सम्पन्न गरिएको थियो । किराँत ऐतिहासिकस्थल बुइपामा निर्माणाधीन यलम्बरको शालिक विश्वमा निर्माण भएकामध्ये अहिलेसम्मकै सबैभन्दा अग्लो र ठूलो भएको निर्माण उपभोक्ता समितिले दाबी गरेको छ । आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्कसमेत लिनेगरी निर्माण सुरु गरिएको यलम्बर पार्कभित्र घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे ट्रष्टसहितको कुर्सी, निःशुल्क वाइफाई सेवा, कफी तथा फास्टफुड सेवा उपलब्ध हुने बुइपाका वडाध्यक्ष दिनेश राईले बताउनुभयो । आफ्नो क्षेत्रमा किराती प्रथम राजा यलम्बरको धलौटको सालिक सहितको पार्क निर्माणको काम अन्तिम चरणमा पुगेपछि बुइपाका स्थानीयवासी समेत हर्षित भएका छन् । बुइपामा स्थापना गरिएको किंराती प्रथम राजा यलम्बरको सालिक विश्वकै अग्लो र ठुलो हुनुका साथै आधुनिक प्रविधिको यलम्बरपार्क निर्माण भएपछि जिल्लाको पर्यटन प्रवर्धनमा सघाउ पुग्ने पर्यटन व्यवसायीहरुले बताएका छन् । किरात समुदायको ईतिहासलाई संरक्षण गर्दै पर्यटन प्रवर्धनमा सघाउ गर्ने उद्देश्यले बुइपाबजारस्थित पञ्चदोबाटोमा किराती प्रथम राजा यलम्बरको पूर्ण कदको सालिकसहितको यलम्बरपार्क निर्माण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले बताउनुभयो । यलम्बरपार्क निर्माण गर्ने आयोजनालाई प्रदेश सरकार र नगरपालिकाले प्रमुख प्राथमिकतामा राखेको थियो । कालोपत्रको काम भइरहेको सगरमाथा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने बुइपामा निर्माणाधीन यलम्बर पार्क पर्यटकका लागि आवतजावत गर्नसमेत सहज हुने जनाइएको छ । हिन्दु, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसीनजिक रहेको बुइपामा निर्माण सुरु गरिएको यलम्बर पार्कमा हलेसी आउने पर्यटकलाई समेत घुमाउन ल्याउन सकिने निर्माण उपभोक्ता समितिले जनाएको छ ।