इटहरी | श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाम, इटहरीको आयोजनामा स्थापना हुन लागेको ‘मङ्गल राधिका सदानन्द प्रणामी अस्पतालको उद्घाटनको अवसरमा आइतबार इटहरी बजार परिक्रमा गर्दै बृहत् कलश यात्रा सम्पन्न गरिएको छ ।
२०८२ वैशाख १ गते स्वामी श्री १०८ डा. सदानन्द महाराजबाट अस्पतालको औपचारिक उद्घाटन गरिने कार्यक्रमको तयारी स्वरूप आयोजित कलश यात्रामा झण्डै ४ हजार भन्दा बढी भक्तजनको सहभागिता रहेको थियो । सोही कार्यक्रममा २५ गतेदेखि ३१ गतेसम्म सप्ताहव्यापी श्रीमद्भागवत पुराण समेत आयोजना हुदैछ । साथै, मन्दिरको ४६ औँ वार्षिकोत्सवको अवसरमा श्री १०८ पाठपरायण अन्तर्राष्ट्रिय महोत्सव समेत आयोजना गरिने भएको छ ।
मूल समारोह समितिका अध्यक्ष हेमप्रसाद घिमिरेका अनुसार, अस्पतालको पहिलो चरणमा १५ शय्या सहित सेवा सुरु गरिनेछ । आगामी १० वर्षभित्र अस्पताललाई विस्तार गरी ५ सय शय्याको आधुनिक अस्पताल बनाउने लक्ष्य लिइएको छ । स्वामी श्री १०८ डा. सदानन्द महाराजको सहयोगमा निर्माण भएको अस्पतालबाट २४ सै घण्टा स्वास्थ्य सेवा प्रदान गरिनेछ ।
अस्पतालले सरकारी अस्पतालसरहको शुल्कमा सेवा दिँदै आधुनिक प्रयोगशाला (ल्याब) र फार्मेसी सुविधा पनि उपलब्ध गराउने तयारी गरिएको छ । इटहरी क्षेत्रमा व्यवस्थित र स्तरीय स्वास्थ्य सेवाको माग बढिरहेको समयमा प्रणामी मन्दिर मुक्तिधाम द्वारा सञ्चालनमा ल्याइने यो अस्पतालले स्थानीयवासीका लागि महत्वपूर्ण राहत दिने विश्वास लिइएको छ ।


