विराटनगर | मोरङको विराटनगरमा ७२औं सिंचाइ दिवसको अवसरमा बृहत वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ। "आधुनिक सिंचाइ विस्तार, दिगो कृषि विकासको आधार" भन्ने मूल नाराका साथ खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय कोशी प्रदेशको आयोजनामा भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कोशी प्रदेशको प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

वृक्षारोपण कार्यक्रमको उद्देश्य वातावरणीय सन्तुलन कायम गर्नुका साथै जलस्रोतको संरक्षण, सिंचाइ प्रणालीको दीगो विस्तार, र कृषिमा हरियाली प्रवर्द्धन गर्नु रहेको बताइएको छ।

कार्यक्रममा कोशी प्रदेशका खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा मन्त्रालयका सचिव प्रदीप वान्तवाले अध्यक्षता गर्नुभएको थियो।

सो अवसरमा बोल्दै मन्त्री कार्कीले सिंचाइको दीगो विकासले मात्र कृषि प्रणालीलाई आत्मनिर्भर बनाउने र जलस्रोतको समुचित उपयोगमार्फत समृद्धि हासिल गर्न सकिने विचार व्यक्त गर्नुभयो। उहाँले वृक्षारोपण जस्ता कार्यक्रमले वातावरण संरक्षणमा सहयोग पुग्ने भन्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

सचिव प्रदीप वान्तवाले सिंचाइ दिवसको ऐतिहासिक महत्वलाई स्मरण गराउँदै हालका दिनहरूमा जलवायु परिवर्तन र वातावरणीय संकटका सन्दर्भमा वृक्षारोपणको आवश्यकता झनै बढेको बताउनुभयो। उहाँले जलस्रोतको संरक्षण र उपयोगलाई सन्तुलित बनाउन वृक्षारोपणले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।IMG_20250407_102557

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्रदेश सभा सदस्य रामप्रसाद मेहताले पनि वृक्षारोपण अभियानप्रति समर्थन जनाउँदै यो अभियानले भविष्यमा वातावरण संरक्षण तथा कृषि उत्पादन वृद्धिमा टेवा पुर्‍याउने बताउनुभयो।

यस्तै, कार्यक्रममा कोशी प्रदेश खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालयका महाशाखा प्रमुख कृष्णप्रसाद राजवंशी, उपसचिव रोकेश निरौला, मन्त्रालयका विभिन्न कार्यालयका प्रमुख तथा सचिवहरू, भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र शाह लगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले कार्यालय परिसरमा विभिन्न जातका बिरुवाहरू रोपेका थिए।

कार्यक्रमको समापनमा वातावरण संरक्षण, जलस्रोतको दीगो उपयोग र हरियाली प्रवर्द्धनका लागि आगामी दिनहरूमा पनि यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।

IMG_20250407_095756