सुनसरी | सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१०, खुनियाधारस्थित प्रकाशपुर बकुलाचापमा अस्थायी प्रहरी पोस्टको स्थापना तथा समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, प्रशासन शाखाको निर्देशनअनुसार इलाका प्रहरी कार्यालय महेन्द्रनगर (चक्रघट्टि) अन्तर्गत रहने गरी उक्त पोस्ट स्थापना गरिएको हो। कार्यक्रम जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिमिल्सिनाको अध्यक्षता र बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
कार्यक्रममा बराहक्षेत्र–१० का वडा अध्यक्ष तेजबहादुर गुरुङ, वडा नं. ११ का वडा अध्यक्ष कृष्ण कुमार महतो, विभिन्न स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, भद्रभलाद्मी, सञ्चारकर्मी तथा सर्वसाधारण गरी करिब ७०–८० जनाको उपस्थिति रहेको थियो।
वडा नं. १० का अध्यक्ष तेजबहादुर गुरुङका अनुसार प्रतिनिधिसभा सदस्य माननीय ज्ञानेन्द्रबहादुर कार्कीको विशेष पहलमा बराहक्षेत्र–१०, ११ तथा भोक्राहा नर्सिङ गाउँपालिका–१ को भौगोलिक क्षेत्रलाई लक्षित गर्दै शान्ति सुरक्षाका लागि अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको हो।



