काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राईसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सो जानकारी गराउनुभएको हो । खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन सङ्घीय सरकारबाट यसअघि तयार भइसकेको छ । नगर प्रमुख राईले स्रोत सुनिश्चितताका लागि यसअघि अर्थ मन्त्रालयलाई आग्रह गरेको जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री ओलीले धरानको फोहर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ‘ल्याण्डफिल्डसाइट’ बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।


