विराटनगर | कोशी प्रदेशको राजधानी विराटनगरमा ७२औं सिंचाइ दिवसका अवसरमा खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय, कोशी प्रदेशको आयोजनामा विविध कार्यक्रमहरू भव्य रूपमा सम्पन्न भएका छन्। “आधुनिक सिंचाइ विस्तार, दिगो कृषि विकासको आधार” भन्ने मूल नाराका साथ आयोजित उक्त दिवस वृक्षारोपण, रक्तदान तथा बृहत अन्तरक्रियात्मक कार्यक्रमका साथ मनाइएको हो।

सिंचाइ दिवसको मूल उद्देश्य आधुनिक तथा प्रभावकारी सिंचाइ प्रणालीको विकास, जलस्रोतको दीगो उपयोग र जल व्यवस्थापनका क्षेत्रमा जनचेतना अभिवृद्धि गर्नु हो। सोही उद्देश्यअनुसार मन्त्रालयले यस वर्षको दिवसलाई थप प्रभावकारी र सहभागितामूलक बनाउन विभिन्न कार्यक्रमको आयोजना गरेको थियो।

कार्यक्रमको उद्घाटन मन्त्रालयका सचिव प्रदीप वान्तवाको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिका रूपमा कोशी प्रदेशका खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा प्रदेशसभा सदस्य रामप्रसाद मेहता विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, कोशी प्रदेशको प्रथम सचिव भएका पुर्व सचिव सागरकुमार राईलाई सम्मान समेत गरिएको थियोे ।

उद्घाटन कार्यक्रममा वृक्षारोपण कार्यक्रममा सहभागीहरूले मन्त्रालय परिसरमा विभिन्न प्रजातिका बिरुवाहरू रोपेका थिए। हरियाली प्रवर्द्धन र वातावरणीय सन्तुलन कायम राख्न वृक्षारोपणलाई प्राथमिकता दिइएको बताइएको छ। मन्त्री कार्कीले वातावरण संरक्षण र जलस्रोतको दीगो उपयोगका लागि यस्ता कार्यक्रमहरू अत्यन्तै आवश्यक रहेको बताउनुभयो। उहाँले आगामी दिनहरूमा मन्त्रालयबाट थप प्रभावकारी कार्यक्रम ल्याइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

वृक्षारोपणपछि आयोजित रक्तदान कार्यक्रममा १०० भन्दा बढी व्यक्तिहरूले रक्तदान गरेका थिए। कार्यक्रम संयोजकका अनुसार संकलित रगत आपतकालीन सेवा तथा अस्पतालहरूमा आपूर्ति गरिनेछ। रक्तदान कार्यक्रमले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको सन्देश दिएको सहभागीहरूले बताएका छन्।

सिंचाइ दिवसकै अवसरमा आयोजित बृहत अन्तरक्रिया कार्यक्रममा मन्त्रालयअन्तर्गत विभिन्न महाशाखा प्रमुख, उपसचिव, प्राविधिक विज्ञ, योजनाविद् र सरोकारवाला निकायहरूबीच जलस्रोत व्यवस्थापन, वर्तमान समस्याहरू, प्रविधिको उपयोग, बजेट तथा नीतिगत सुधारका विषयमा गहन छलफल भएको थियो।

कार्यक्रममा झापाको मेचिनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकी, कोशी प्रदेशका महाशाखा प्रमुख कृष्णप्रसाद राजवंशी, उपसचिव रोकेश निरौला, भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र शाहलगायत मन्त्रालयका विभिन्न कार्यालय प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको समापनमा सहभागीहरूले जलस्रोतको दीगो उपयोग, वातावरणीय संरक्षण, हरियाली प्रवर्द्धन र सिंचाइ सेवाको पहुँच विस्तारमा सरकार, जनप्रतिनिधि र नागरिक समाजबीच समन्वयको खाँचो रहेको धारणा व्यक्त गरेका थिए। साथै, यस्ता अभियानलाई भविष्यमा अझ व्यापक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिएको थियो।