इटहरी । धरान उपमहानगरमा पहिलो पटक राष्ट्रिय स्तरको आइविए प्रो एण्ड एमेचर महिला–पुरुष धरान फाइट नाइट २०२५ आगामी वैशाख १२ गते हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै आयोजक धरान बक्सिङ्ग संस्थाले खेलकुदको शहर धरानमा बक्सिङ्ग खेलको प्रर्वद्धन तथा खेलाडि उत्पादनमा सहयोग पुर्याउने उद्देश्यसहित धरानमा पहिलो पटक धरान फाइट नाइट गर्न लागिएको धरान बक्सिङ्ग संस्थाको सचिव महेश आले मगरले बताउनुभयो । खेलकुद क्षेत्रको विकास, विस्तार, सामाजिक कार्य, प्रतियोगिताको आयोजना, प्रशिक्षण लगायत कार्यमा युवाहरुलाई सहभागिता गराई खेलाडि युवाहरुलाई क्रियाशिल बनाउँदै उनीहरुमा सामाजिक उत्तर दायित्व निर्वाह गर्ने तथा समाज प्रति खेलकुदको माध्यमबाट जिम्मेवार बनाउने उद्धेश्य यस संस्थाको रहेको संस्थाको अध्यक्ष दिपक राईले बताउनुभयो। प्रतियोगितमा खेलाडिहरुले प्रो। र एमेचर दुई विद्यामा प्रतिश्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा कोशि प्रदेशबाट प्रो प्रतिश्पर्धामा धरान, धनकुटा, झापा र उदयपुर जिल्लावाट खेलाडिहरुले सहभागिता जनाउने, गण्डकी प्रदेशबाट पोखरा र बाग्मती प्रदेशबाट काठमाडौका खेलाडिहरुले सहभागिता जनाउने छ । यसैगरि एमेचर प्रतिश्पर्धा तर्फ धरान, धनकुटा, उदयपुर र झापावाट खेलाडिहरुले सहभागिता जनाउने भएको छ । फाइट नाइटमा महिला र पुरुष राष्टिय वक्सिङ्ग खेलाडिको प्रर्दशनि खेल समेत हुने आयोजकले जनाएको छ । फाइट नाइट धरान १५ स्थित किरात याक्थुङ चुम्लुङमा रहेको चुम्लुङहिम हलमा हुने संस्थाको उपाध्यक्ष प्रतिक राईले बताउनुभयो । साझ ४ वजे देखि सुरु हुने फाइट नाइटलाई भव्य बनाउन विभिन्न साङ्गितिक कार्यक्रमहरु समेत हुने उहाँले बताउनुभयो । कार्यक्रममा वक्सिङ्ग खेलमा योगदान पुर्याउनु हुने धरानका राष्ट्रिय तथा अन्तराष्ट्रिय ओलिम्पियन खेलाडि तथा गुरुहरुको समेत उपस्थिति रहनेछ । प्रतियोगिताको अनुमानित वजेट १५ लाख रुपैया रहेको संस्थाको कोषाध्यक्ष विशाल राईले बताउनुभयो । प्रतियोगितामा प्रो। फाइट तर्फका विजेता खेलाडिले नगद रु ३५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद रु २५ हजार र प्रमाणपत्र प्राप्त गर्नेछ । एमेचर तर्फका विजेता खेलाडिले नगद रु ६ हजार, मेडल र प्रमाणपत्र र उपविजेताले नगद रु ३ हजार र प्रमाणपत्र प्राप्त गर्नेछ । कार्यक्रममा कोच किशोर साम्वाहाम्फे, एसियन साफ मेडलिष्ट अनुप लामा, बरिष्ठ पत्रकार हर्ष सुब्बा, मजदुर संगठनको अध्यक्ष भिमज्वाला राई लगायतको उपस्थिति रहेको थियो ।