इटहरी | संगित प्रतिष्ठान टोल विकास संस्थाद्वारा नयाँ वर्ष २०८२ सालको शुभकामना आदानप्रदान तथा जेष्ठ  नागरिक र पुर्व अध्यक्ष सम्मान कार्यक्रम गरेको छ ।

कार्यक्रम संयोजक पदम कुमार थापाको सभाअध्यक्षता तथा  इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख अतिथिमा कार्यक्रम गरिएको थियोे ।

उक्त अवसरमा दीर्घकालसम्म समाजमा योगदान पुर्याउनुभएका जेष्ठ नागरिकहरू नरेश श्रेष्ठ, अम्बिका देवी गौतम, विष्णु कुमारी राई लगायत संस्थाका पूर्व अध्यक्षहरू हर्क बहादुर घिमिरे, चुणामणि भट्टराई र हस्तबहादुर तामाङलाई विशेष सम्मान गरिएको थियो। सम्मानस्वरूप उनीहरूलाई दोसल्ला ओढाई प्रमाणपत्र प्रदान गरिएको थियो।

संस्थाका वर्तमान अध्यक्ष विकास भण्डारीले कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सामाजिक समृद्धिका लागि निरन्तर क्रियाशील रहनु संस्थाको मूल उद्देश्य रहेको उल्लेख गर्नुभयो। उहाँले विगतका वर्षमा संस्थाले गरेका गतिविधिहरूको समीक्षा गर्दै नयाँ वर्षमा थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिनुभयो। समाजसेवामा सबैको सहकार्य आवश्यक रहेको बताउँदै उहाँले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।

कार्यक्रमकी प्रमुख अतिथि उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीले संस्थाले सामाजिक र सांस्कृतिक क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले समाजमा प्रेरणा जगाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्थानीय सरकार र संस्थाबीचको सहकार्य अझ सुदृढ हुँदै जाने बताउनुभयो। “समाजका जेष्ठ नागरिकलाई सम्मान गर्नु भनेको आफ्नै भविष्यप्रति सम्मान गर्नु हो,” उहाँले भन्नुभयो।IMG-20250412-WA0015

कार्यक्रमकै अवसरमा वेदान्त हस्पिटल प्रा.लि.को सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। कार्यक्रममा संस्थाकी महिला कार्यसमिति अध्यक्ष उर्मिला वाग्ले, युवा समाजसेवी आकाशहाङ सुब्बा, दीपेन्द्र घिमिरे, विशेष अतिथि, अतिथि तथा संस्थाका पदाधिकारी, स्थानीय बुद्धिजीवी, समाजसेवी, युवाहरू र स्थानीय बासिन्दाको बाक्लो उपस्थितिमा सम्पन्न भएको थियो।

 सहभागीहरूले यस्ता कार्यक्रमहरूले समुदायमा सकारात्मक सन्देश फैलाउने तथा सामाजिक एकता अभिवृद्धि गर्ने धारणा व्यक्त गरेका थिए। कार्यक्रम अन्त्यमा सबैलाई नयाँ वर्षको शुभकामना दिँदै संस्थाले आगामी दिनमा समेत सामाजिक, सांस्कृतिक तथा सेवा मूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो।IMG-20250412-WA0014