इटहरी | इटहरी वडा नम्बर १६ मा अवस्थित सुनसरी कृष्टल एकेडेमी स्कुलले आफ्नो २०औं वार्षिकोत्सव तथा अभिभावक दिवस अत्यन्तै भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ । करिब दुई दशकदेखि शिक्षाको क्षेत्रमा उत्कृष्ट योगदान दिँदै आएको यस विद्यालयले स्थापनाको २० औं वर्ष पुगेको उपलक्ष्यमा विद्यालय प्राङ्गणमै विविध कार्यक्रमसहित भव्य समारोहको आयोजना गरेको हो।

समारोह विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेन्द्र धिमालको सभाध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका प्रमुख खगेन्द्र प्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन गौतम, सुनसरी जिल्ला व्यापसनका अध्यक्ष तथा मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल थानेश्वर ढकाल, जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष गंगा प्रसाद दाहाल, विद्यालय संयोजक हेमन्त शर्मा भट्टराई, स्थानीय टोल विकास संस्थाका प्रतिनिधि, अभिभावक तथा विद्यार्थीसहितको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुवात राष्ट्रिय गानसहित गरिएको थियो भने स्वागत मन्तव्य  प्रिन्सिपल सुरेश चन्द्र भट्टराईले राख्नुभएको थियो। विद्यालय संयोजक हेमन्त शर्मा भट्टराईले विद्यालयको २० वर्षे इतिहास, प्रगति, चुनौती तथा आगामी योजनाहरूको बारेमा प्रकाश पार्नुभएको थियो। उहाँले विद्यालयले Nursery देखि कक्षा १२ सम्मको अध्ययन सुविधा दिँदै आएको र शैक्षिक गुणस्तर कायम गर्न निरन्तर क्रियाशील रहेको जानकारी दिनुभयो।

कार्यक्रममा विद्यालयका सर्वोकृष्ट विद्यार्थी ,शिक्षक, अभिभावकहरूलाई सम्मान गरिएको थियोे । सांस्कृतिक कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले नेपालको विविध जातजाति तथा समुदायहरूको सांस्कृतिक पहिचान झल्काउने नृत्य, नाटक, गायन तथा वाद्ययन्त्र प्रस्तुतिहरूमार्फत दर्शकहरूको मन जितेका थिए। अभिभावकहरूले आफ्ना छोराछोरीहरूको प्रतिभा देख्न पाउँदा उत्साहित हुँदै विद्यालयप्रतिको विश्वास अझ मजबुत बनेको धारणा व्यक्त गरे।IMG-20250412-WA0017

प्रमुख अतिथि खगेन्द्र प्रसाद सुवेदीले सम्बोधन गर्दै शिक्षा क्षेत्रमा यस्तो प्रकारका कार्यक्रमहरूले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र प्रस्तुतीकरणको कौशल विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले विद्यालयको निरन्तर प्रगतिको कामना गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

अध्यक्ष  राजेन्द्र धिमालले उपस्थित सबैलाई धन्यवाद दिँदै विद्यालयलाई अझ स्तरीय र सर्वोत्कृष्ट बनाउने दिशामा सबैको साथ, सहयोग र सुझाव सधैं आवश्यक हुने कुरामा जोड दिनुभयो।

विद्यालयको यो २० औं वार्षिकोत्सव तथा अभिभावक दिवस सफल, सन्देशमूलक र प्रेरणादायी बनेको सहभागिहरूले बताएका छन्।