झापा दमक / नेकपा एमालेद्वारा झापाको दमकमा आयोजित बृहत आमसभा शनिबार सम्पन्न भएको छ। आमसभामा पार्टीका शीर्ष नेताहरूको उपस्थितिसँगै हजारौँ जनताको सहभागिता रहेको थियो आमसभा सफल बनाउन स्वयंसेवकहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। हजारौंको संख्यामा सहभागी भएको कार्यक्रममा शान्तिपूर्ण र व्यवस्थित सञ्चालनमा स्वयंसेवकहरूको सक्रिय सहभागिता उल्लेखनीय रह्यो।

कार्यक्रमको सुरक्षादेखि लिएर सवारी व्यवस्थापन, पाहुना स्वागत, स्वास्थ्य सहायता, ट्राफिक व्यवस्थापन र सभास्थलको सरसफाइ जस्ता विभिन्न पक्षमा स्वयंसेवकहरू खटिएका थिए। दमकका युवा, विद्यार्थी, महिला तथा पार्टी समर्थक स्वयंसेवकहरू बिहानैदेखि खटिएर कार्यक्रममा सहयोग पुर्याएका थिए।

कार्यक्रम सम्पन्न भएको केही समयपछि नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष परशुराम बस्नेतको नेतृत्वमा रहेको टोलीले सभास्थल वरिपरि सरसफाइ गरेको छ। बस्नेतसँगै महासंघका विभिन्न पदाधिकारी तथा स्थानीय स्वयंसेवकहरू पनि सरसफाइ अभियानमा सक्रिय देखिएका थिए।
“हामी जहाँ पनि सकारात्मक उदाहरण प्रस्तुत गर्न चाहन्छौँ,” अध्यक्ष बस्नेतले भने, “ठूलो कार्यक्रमपछि सफाइ गर्नु हाम्रो सामाजिक उत्तरदायित्व पनि हो।”

सफाइ अभियानले स्थानीयवासीहरूबाट पनि प्रशंसा पाएको छ। यस कदमले सार्वजनिक कार्यक्रमहरूपछि सफाइ अभियानलाई नियमित अभ्यासको रूपमा स्थापित गर्न सघाउ पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागीहरूले पनि स्वयंसेवकहरूको सहयोगी व्यवहार र तत्परताको खुलेर प्रशंसा गरेका छन्। यसले आगामी दिनमा यस्ता कार्यक्रमहरूको सफल आयोजनामा स्वयंसेवक व्यवस्थापन कति महत्वपूर्ण हुन्छ भन्ने स्पष्ट पारेको छ।




