सृजना ठाकुर

इटहरी । डिजिटल युगसँग सहकार्य गर्दै महिला पत्रकारलाई प्रविधिमा दक्ष बनाउने उद्देश्यले सञ्चारिका समूह कोशी प्रदेश समितिको आयोजनामा भएको तीनदिने कृत्रिम बौद्धिकता एआइ  सम्बन्धी तालिमको तेस्रो दिन शनिबार संचारिका समूह कोशी प्रदेशको दोस्रो अधिवेशनबाट नयाँ कार्य समिती गठन गरिएको छ ।

नवगठित कार्यसमितिमा अध्यक्षमा तारा आचार्य, उपाध्यक्षमा रुमा रिजाल, महासचिवमा जुन भट्टराई  , सचिवमा सुप्रिया राई, र कोषाध्यक्षमा कविता घिमिरे चयन हुनु भएको छ । यस्तै सदस्यहरूमा इन्दु शाह, शान्ति राई, उर्मिला दनुवार, सृजना खुलाल, सिता लिम्बू र खुशिला सङ्ग्रौला रहेका छन् ।

WhatsApp Image 2025-04-13 at 16.54.08_243755df

यस अवसरमा अग्रज महिला पत्रकार ललिता भट्टराईलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा कोशी प्रदेश सभाकी उपसभामुख सृजना दनुवार प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो । उहाँले महिला सञ्चारकर्मीहरूको अग्रणी भूमिकाले समावेशी र न्यायपूर्ण सञ्चार प्रणाली विकासमा योगदान पु¥याउने बताउँदै, सबैलाई अझ सशक्त रूपमा अघि बढ्न आग्रह गर्नुभयो। अधिवेशनमा सहभागी महिला सञ्चारकर्मीहरूले समावेशी सञ्चारको महत्व, पत्रकारितामा भोगेका चुनौतीहरू, तथा आगामी दिनमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा विचार आदानप्रदान गरेका थिए ।

कार्यक्रममा फोनिजका अध्यक्ष भरत खड्का, इन्सेक नेपालका संयोजक मनोहर पोखरेल, फोनिज मोरङकी अध्यक्ष सुशिला पाठक, नेपाल प्रेस युनियनका उपमहासचिव अभयकुमार राई, संचारिका समूह कोशी प्रदेशका निवर्तमान अध्यक्ष इन्दिरा भट्टराई र प्रेस सेन्टर नेपालका उपाध्यक्ष विवेक गौतम लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

संचारिका समूहले प्रदेशभरि छरिएर रहेका महिला सञ्चारकर्मीहरूलाई आबद्ध गर्दै, पत्रकारिता मार्फत सामाजिक न्याय, लैङ्गिक समानता र सशक्त अभिव्यक्ति प्रवद्र्धन गर्ने लक्ष्य लिएको जनाएको छ ।