इटहरी । भोजपुरको पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेको कृषि उपजको सहज बजारीकरणका लागि गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले कृषिमा जोड दिएकाले किसानले उत्पादन गरेका कृषि उपजको सहज बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । उत्पादित वस्तुलाई सहजरुपमा बाहिरी जिल्लाका बजारसम्म पु¥याउन कृषि एम्बुलेन्सले सहजता थप्ने उनको भनाइ छ । गाउँपालिकाले किवी, अकबरे खुर्सानीलगायत अन्य विभिन्न नगदेबालीको खेतीमा अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । धेरै किसान व्यावसायिक रुपमा कृषिमा लागेकाले यहाँ उत्पादन भएका वस्तुको बजारीकरणमा टेवा पुर्याउने लक्ष्यले गाउँपालिकाले आफ्नै कृषि एम्बुलेन्स सञ्चालन ल्याएको उनको भनाइ छ । व्यावसायिक रुपमा कृषिमा लागेका किसानलाई थप प्रोत्साहन गर्न ७०० बढी किसानलाई कृषि सामग्री वितरण गरिएको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए ।


