इटहरी | इटहरीमा सम्पन्न मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकाले चुमेको छ ।

इटहरी ९ स्थित जनता क्रिकेट खेल मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा विराटनगरले इटहरी उपमहानगरपालिकालाई ४ विकेटले पराजित गर्दै उपाधि चुमेको हो ।

इटहरीले प्रस्तुत गरेको १ सय ८२ रनको विजयी लक्ष्य विराटनगरले १९ दशमलव ५ बलमा ६ विकेट गुमाउँदै पूरा गरेको हो  ।विराटनगरका लागि मिनस थापाले सर्वाधिक ८७ रनको उत्कृष्ट इनिङ खेले ।

४५ बलको सामना गरेका उनले ६ छक्का र ८ चौका प्रहार गरे । अटल शाहले २६ रन बनाउँदा कप्तान दिपेश कँडेलले नटआउट २० रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इटहरीले रितेस रायको ६१ रनमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो । इटहरीका लागि अंकित सुवेदीले २५ रन बनाउँदा गौरव कटुवाल र सुमन गहतराजले समान १९ रन जोडे ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विराटनगरका दिपेश कँडेल घोषित हुँदै नगद ७ हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताभर उत्कृष्ट ब्याटर इलामको माई नगरपालिकाका अनिल लामिछाने र उत्कृष्ट बलर मोरङको कटहरी गाउँपालिकाका प्रेम कामत भए । उनीहरूले जनही ५ हजार रुपैयाँ प्राप्त गरे ।

उपाधि विजेता विराटनगरले नगद १ लाख रुपैयाँ र उपविजेता इटहरीले नगद ५० हजार पुरस्कार पाएका छन् । इटहरी उपमहानगरपालिकाले संयोजन गरेको प्रतियोगितामा कोशी प्रदेशका १८ वटा पालिका सहभागी थिए ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियोे ।इटहरीमा क्रिकेट प्रतियोगिता आवश्यक रहेका खेलाडीहरूलाइ अगाडि बढ्न सहयोग गर्ने सेभेन स्टार क्लबका अध्यक्ष नवराज पौडेलले बताए ।