इटहरी | नववर्ष २०८२ को अवसरमा नेपाल राष्ट्रका प्रथम लिहासिक जगद्गुरु अनन्त श्री विभूषित श्रीबालसन्त मोहन शरण देवाचार्य महाराजश्रीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाललाई पुनः सनातन हिन्दू राष्ट्रको रुपमा स्थापित गर्न राष्ट्रव्यापी सहमतिको आवश्यकतामा जोड दिनुभएको छ।
नववर्षको पावन शुभारम्भमा शुभकामना दिँदै जगद्गुरुले वैदिक सनातन संस्कृति र नेपाली समाजको गहिरो सम्बन्धलाई स्मरण गराउनुभयो। उहाँले नेपाललाई हिन्दू सभ्यताको आदिकालीन भूमि भन्दै यहाँका ऐतिहासिक, पौराणिक र धार्मिक महत्व बोकेका तीर्थस्थलहरूको चर्चा गर्नुभयो — परशुरामकुण्ड, वैद्यनाथ, बडीमालिका, छायानाथ, मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर, वराहक्षेत्र, चतराधाम जस्ता स्थलहरूलाई उहाँले राष्ट्रिय गौरवका प्रतीकका रूपमा व्याख्या गर्नुभयो।
जगद्गुरुले नेपालको संविधानमा उल्लेखित ‘धर्मनिरपेक्षता’ शब्दप्रति असन्तुष्टि जनाउँदै त्यसलाई “आयातीत” (बाह्य प्रभावले ल्याइएको) र नेपाली जनभावनाविपरीत भएको ठहर गर्नुभयो। उहाँका अनुसार, सनातन हिन्दू राष्ट्रका रूपमा स्थापित नेपाललाई धर्मनिरपेक्षता लादेर तीन करोड नेपालीहरूको आत्मामा आघात पुर्याइएको छ। यस परिवर्तनपछि देशमा धार्मिक द्वन्द्वको बीजारोपण भएको र वर्तमानमा मुलुक राजनीतिक तथा धार्मिक अस्थिरताको चपेटामा परेको उहाँले दाबी गर्नुभयो।
विज्ञप्तिमा राजनीतिज्ञहरू, विभिन्न दलका नेताहरू, संघ–संस्थाहरू र राष्ट्रभक्त नागरिकहरूसँग आपसी सम्वाद र सहकार्यका माध्यमबाट मिलेर देशलाई हिंसा र द्वन्द्वतिर जानबाट रोक्नुपर्ने उल्लेख छ। उहाँले देशलाई एकताको बाटोमा डो-याउने साझा उद्देश्यका लागि राष्ट्रिय सहमति आवश्यक रहेको र त्यसमा सरकारसहित सम्पूर्ण पक्षहरू गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभएको छ।
विश्वका एक अर्ब १० करोडभन्दा बढी हिन्दूहरूको आस्थाको केन्द्रका रूपमा नेपाललाई चिनाउँदै जगद्गुरुले नेपाललाई विश्वकै एक मात्र सनातन हिन्दू राष्ट्रको रूपमा पुनः स्थापनाका लागि सम्पूर्ण नेपालीहरूले मिलेर अघि बढ्नुपर्ने सन्देश दिनुभयो। उहाँको भनाइमा, नेपाली जनताको आस्थालाई अमर राख्दै धार्मिक पहिचानको संरक्षण गर्नु अहिलेको ऐतिहासिक आवश्यकता हो।
प्रेस विज्ञप्तिको अन्त्यमा उहाँले भगवान श्री पशुपतिनाथसँग प्रार्थना गर्दै सम्पूर्ण नेपाली जनतामा सुख, शान्ति र समृद्धिको उज्यालो छाओस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो। साथै, हत्या र हिंसाबाट मुक्त, हासिलो अनुहारका साथ बाँच्न पाउने वातावरण निर्माण होस् भन्ने कामनासमेत गर्नुभयो।
यसरी नववर्षको सन्देशमार्फत् जगद्गुरु मोहन शरण देवाचार्यले नेपाली जनताको धार्मिक, सामाजिक र राष्ट्रिय भावनामा आधारित भएर देशलाई समृद्ध, शान्त र सनातन मार्गमा पुनः डोर्याउने गहिरो आह्वान गर्नुभएको छ।


