इटहरी | इटहरीको पश्चिम लाइनमा अवस्थित सूर्य कम्प्लेक्सको अण्डरग्राउन्डमा नेपाली जुत्ता उद्योगले आयोजना गरेको भव्य जुत्ता मेला अहिले चर्चाको केन्द्र बनेको छ। चैत २० गतेदेखि सुरु भएको यो मेला वैशाख मसान्तसम्म निरन्तर सञ्चालन हुनेछ, जसमा ग्राहकहरूले विभिन्न प्रसिद्ध नेपाली ब्राण्डका जुत्ता तथा चप्पलहरू ५० प्रतिशतसम्मको आकर्षक छुटमा खरिद गर्न सक्नेछन्।

मेलामा बिएफ डियर हिल, सुल्याण्ड, स्मार्ट सुज, फस्ट वाल्क, क्रसरोड, रनसुज लगायतका राष्ट्रिय स्तरमा परिचित ब्राण्डहरू सहभागी छन्। यी सबै जुत्ताहरू सिधै उत्पादक फ्याक्ट्रीबाट मेलामा ल्याएर बिक्रीमा राखिएका छन्। मेलामा राखिएका सबै जुत्ताहरू गुणस्तरको विश्वस्तता (वारेन्टी) सहित उपलब्ध छन्, जसले ग्राहकको आत्मविश्वासलाई अझ बढाएको छ।

नेपालमै उत्पादित गुणस्तरीय जुत्ताहरूलाई प्रोत्साहन गर्दै देशैभरिका उपभोक्तासम्म पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको यो मेला विगतका वर्षहरूमा जस्तै यसपटक पनि एकैसाथ विभिन्न शहरहरूमा आयोजना गरिएको हो। उत्पादक र उपभोक्ताबीचको दूरी घटाउँदै नेपाली उत्पादनलाई बजारमा स्थापित गराउने लक्ष्यसाथ जुत्ता उत्पादन गर्ने उद्योगहरूले यस्तो अभियान सञ्चालन गर्दै आएका छन्।

मेलाको पहिलो दिनदेखि नै ग्राहकहरूको उल्लेख्य उपस्थिति देखिएको छ। विगतमा इटहरीमा आयोजना गरिएको यस्तै मेलाले एक करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको थियो भने यसपटक आयोजकहरूले दुई करोड रुपैयाँको कारोबार हुने अपेक्षा राखेका छन्।

मेलाका आयोजक तथा नेपाली जुत्ता उत्पादन संघका पूर्वअध्यक्ष होमनाथ उपाध्यायका अनुसार उपभोक्ताहरूले बजार मूल्यको तुलनामा झण्डै आधा सस्तो मूल्यमा जुत्ता तथा चप्पल खरिद गर्न सक्नेछन्। उपाध्यायले भनेका छन्, “विगतमा मेलाबाट उपभोक्ताहरू निकै सन्तुष्ट भएको अनुभवका आधारमा पुनः मेला आयोजना गरिएको हो। नेपाली ब्रान्डलाई स्थापित गर्ने र स्वदेशी उत्पादनको प्रयोगलाई जीवनशैलीमा अभ्यस्त गराउने मुख्य उद्देश्य हामीले लिएका छौं।”

स्वदेशी उत्पादनप्रति उपभोक्ताको रुचि बढ्दै गएको सन्दर्भमा यस्तो मेला उपयुक्त अवसर बन्ने विश्वास आयोजकहरूले लिएका छन्। मेलाले नेपाली उत्पादनको पहिचान विस्तार गर्न मात्र होइन, घरेलु उद्योगलाई पनि थप बल प्रदान गर्ने अपेक्षा गरिएको छ।