इटहरी | सुनसरीको इटहरिमा सञ्चालित जनता माध्यमिक विद्यालयले आफ्नो पछिल्ला दुई कार्यकालको उपलब्धिहरू समेटिएको प्रगति प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक गरेको छ। विद्यालय व्यवस्थापन समितिको आयोजनामा सोमबार विद्यालय परिसरमै पत्रकार सम्मेलनको आयोजना गरी उक्त प्रतिवेदन प्रस्तुत गरिएको हो।

दुई वर्ष अघिसम्म १,२८४ जना विद्यार्थी अध्ययनरत रहेका विद्यालयमा अहिले ३,२०२ जना विद्यार्थीहरू अध्ययनरत छन्। यो संख्यात्मक वृद्धिले विद्यालयप्रतिको विश्वास बढेको स्पष्ट संकेत गरेको छ। समितिले शिक्षक तथा कर्मचारीका छोराछोरीहरूलाई समेत आफ्नै विद्यालयमा भर्ना गराएर विद्यालय सुधार अभियानलाई आत्मसात् गरेको बताइएको छ। यसले विद्यालयमा गुणस्तरीय शिक्षा र व्यवस्थापनमा आम नागरिकको विश्वास मजबुत भएको प्रमाणित गरेको छ।

विद्यालयमा भौतिक पूर्वाधार तथा प्रविधि सुधारतर्फ पनि महत्वपूर्ण पहल भएको छ। अधिकांश कक्षाकोठाहरूलाई प्रविधिमैत्री बनाइएका छन् जसअनुसार पढाइमा स्मार्ट बोर्ड, प्रोजेक्टर र इन्टरनेट सुविधाको प्रयोग वृद्धि गरिएको छ। यसले विद्यार्थीहरूको सिकाइ प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ। साथै विद्यार्थीहरूको पहुँच सहज बनाउन विद्यालय बस सेवा सुरु गरिएको छ, जसले टाढाबाट आउने विद्यार्थीहरूलाई राहत मिलेको छ।

विद्यालयको वित्तीय पारदर्शिता र सुधार पनि समितिको प्राथमिकतामा परेको छ। व्यवस्थापन समितिको सक्रियतामा आर्थिक स्रोत व्यवस्थापनमा सुधार ल्याइँदै आएको तथा खर्च पारदर्शी रूपमा सार्वजनिक गरिने प्रणाली स्थापना गरिएको छ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दंगालले विद्यालयले इटहरीको शिक्षा क्षेत्रमा ‘कोसेढुङ्गा’ सावित हुने गरी कार्य गरेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयहरूलाई सुधार गर्न अभिभावकहरूको सक्रियता र सहयोग अपरिहार्य हुन्छ भन्ने सन्देश हामीले दिएका छौँ। अभिभावकको विश्वास र सहकार्य बिना यस्तो सम्भव हुने थिएन।”

विद्यालयले बैशाख १५ गतेसम्मलाई विद्यार्थी भर्ना अभियान चलाइरहेको छ। अन्तिम हप्तामा आम अभिभावकहरूलाई बोलाई नयाँ व्यवस्थापन समिति चयन प्रक्रिया थाल्ने विद्यालयको योजना छ। त्यससँगै नयाँ शैक्षिक सत्रका लागि ३५० जना नयाँ विद्यार्थी भर्ना लिने लक्ष्य रहेको विद्यालय प्रशासनले जनाएको छ।

विद्यालय व्यवस्थापन समितिको सक्रियता, अभिभावकको सहभागिता र समर्पित शिक्षकहरूको सहकार्यले गर्दा सामुदायिक विद्यालय सुधारको क्षेत्रमा जनता माध्यमिक विद्यालयले नमुना प्रस्तुत गरेको विभिन्न सहभागीलगायत सञ्चारकर्मीहरूले पनि उल्लेख गरेका थिए।