सुन्दहरैंचा | सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैँचा–२ विराटचोकको आयोजनामा वैशाख ६ र ७ गते सञ्चालन हुने पहिलो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको पहिलो दिनको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनको मुख्य उद्देश्य शिक्षाको अन्तर्राष्ट्रियकरण, अनुसन्धानको प्रवर्द्धन, र विषयगत ज्ञान आदानप्रदानलाई सुदृढ गर्नु रहेको आयोजकले बताएका छन्।
कार्यक्रमको सुरुवात विहान ७ बजे रजिष्ट्रेसनबाट भएको थियो। त्यसपछि विहान ९ बजे औपचारिक उद्घाटन सत्र सम्पन्न भयो, जसको उद्घाटन विश्वविद्यालय अनुदान आयोग (UGC) का अध्यक्ष प्रा. डा. देवराज अधिकारीले गर्नुभयो। उहाँले नेपालमा उच्च शिक्षाको वर्तमान अवस्था, चुनौती र सम्भावनामाथि प्रकाश पार्दै यस्ता सम्मेलनहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताबीच सेतुको काम गर्ने विश्वास व्यक्त गर्नुभयो।
उद्घाटन सत्रमा सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंले शुभकामना मन्तव्य राख्दै क्याम्पसको यो पहलप्रति प्रशंसा गर्नुभयो। क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सम्मेलन आयोजक समितिका कन्भेनर गुणराज नेपालले सम्मेलनको उद्देश्य र महत्त्वबारे स्पष्ट पार्नुभयो। उद्घाटन सत्रको सभापतित्व क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले गर्नुभयो र कार्यक्रमको सञ्चालन उषाकिरण वाग्लेले गर्नुभएको थियो।
विहान १० बजे सुरु भएको ‘किनोट स्पिच’ सत्रमा तीनजना विशिष्ट व्यक्तित्वहरूले मन्तव्य दिनुभएको थियो। नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर, भारतको आसाम डाउन टाउन विश्वविद्यालयका उपकुलपति प्रा. डा. नारायणचन्द्र तालुकदार र काठमाडौँ विश्वविद्यालयका मानविकी तथा शिक्षा संकायका डीन प्रा. डा. बालचन्द्र लुईँटेल वक्ताको रूपमा प्रस्तुत हुनुभयो। उनीहरूले उच्च शिक्षामा नवीन प्रवृत्ति, प्रविधिको प्रयोग, र अन्तर्राष्ट्रिय सहकार्यको भूमिकामाथि विचार प्रस्तुत गर्नुभयो।
अपरान्ह १ बजेपछि सम्मेलन विभिन्न विषयगत समूहमा विभाजन भई चार स्थानमा समानान्तर सत्र (Parallel Sessions), कार्यशाला (Workshops) र प्लेनरी सेसन सञ्चालन गरिएको थियो।
अङ्ग्रेजी समूहतर्फ, अमेरिकी दूतावासका क्षेत्रीय अङ्ग्रेजी भाषा विशेषज्ञ रोजर कोहेनले प्राध्यापक र विद्यार्थीहरूका लागि विशेष कार्यशाला सञ्चालन गर्नुभयो। हरिप्रसाद बस्याल, सूर्यप्रसाद ढकाल, दुर्गानाथ रेग्मी, टिकाराम भट्टराई, इन्द्रबहादुर क्षेत्री, राम चौधरी, तोर्णराज पौडेल, र युवराज सुवेदीले आफ्नो अनुसन्धान प्रस्तुत गर्नुभयो।
शिक्षा तथा मानविकी समूहतर्फ, मनमोहन टेक्निकल विश्वविद्यालयका रजिस्ट्रार डा. दिलनाथ फुयलले प्लेनरी सत्रमा मन्तव्य दिनुभयो। यस समूहमा सूर्यप्रसाद चम्लागाईँ, दिलबहादुर राहुत, र विश्वविद्यालय अनुदान आयोगका नारायणप्रसाद भण्डारीले आफ्ना अनुसन्धान प्रस्तुत गर्नुभयो।
विज्ञान, प्रविधि र गणित समूहतर्फ, प्लेनरी सत्रमा प्रा. डा. देवेन्द्र अधिकारीले सम्बोधन गर्नुभयो। अमेरिकी फुलब्राइट स्कलर एलिजाबेथ टेबर, अरुणकुमार श्रेष्ठ, डा. दिव्यराज दाहाल, र सन्देश भण्डारीले समानान्तर सत्रमा अनुसन्धान पत्र प्रस्तुत गर्नुभयो।
व्यवस्थापन समूहमा, विश्वविद्यालय अनुदान आयोगकी ममता प्रजापती, त्रिलोचन सिटौला, शिलु कार्की, बासुदेव खनाल, र सीताराम खतिवडाले आफ्ना अनुसन्धान प्रस्तुत गर्नुभएको जानकारी आयोजक समितिका प्रमुख एवं सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालले दिनुभयो।
समानान्तर सत्रहरू पश्चात् अपरान्हमा कृषि तथा वन विश्वविद्यालयकी उपकुलपति प्रा. डा. शारदा थपलियाले एक महत्वपूर्ण किनोट स्पिच प्रस्तुत गर्नुभयो। त्यसपछि प्रा. डा. बासुदेव काफ्लेको संयोजकत्वमा प्यानल डिस्कसन सञ्चालन भयो। उक्त सत्रमा प्रा. डा. तीर्थराज खनियाँ, थाइल्याण्डको शाङ्क्ला विश्वविद्यालयकी डा. अपराडि लिम, र पोल्यान्डका डा. माइकल अपोलो प्यानलिस्टका रूपमा सहभागी हुनुभयो।
पहिलो दिनको कार्यक्रमको समापनमा सुकुना क्याम्पसका विद्यार्थीहरूले विविध साँस्कृतिक प्रस्तुति मार्फत अतिथिहरूलाई स्वागत तथा मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रमको समग्र व्यवस्थापन सुदृढ, सुव्यवस्थित र प्रभावशाली रहेको सहभागीहरूले बताएका छन्।