विराटनगर – कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) ले राष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनीको उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार लोहनी नेपालको क्रिकेट क्षेत्रमा एक होनहार र भविष्यप्रद खेलाडी हुन्, जसले मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने सम्भावना राख्छन्। तर दुर्भाग्यवश, सन् २०२३ मा जनकपुरमा आयोजित महेन्द्र नारायण निधी टी-२० राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशको कप्तानी गर्दै गण्डकी प्रदेशविरुद्ध फिल्डिङ गर्ने क्रममा उनी गम्भीर घाइते भएका थिए।
खेल मैदानमै चोट लागेपछि लोहनीको खुट्टाको अहिलेसम्म पाँच पटक शल्यक्रिया भइसकेको छ। उनको अवस्था अझै पनि संवेदनशील रहेकाले उनी हाल भारतमा पुनः उपचारका लागि गएका छन्। यसअघि नै उनको उपचारमा झन्डै दुई लाख रुपैयाँ खर्च भइसकेको र अझै थप उपचारका लागि ठूलो रकम आवश्यक पर्ने जानकारी प्राप्त भएको छ।
सदस्यसचिव बस्नेतले लोहनीजस्ता राष्ट्रका गौरव खेलाडीको उपचारमा राज्यका तीनवटै तह — संघीय, प्रदेश र स्थानीय सरकारले तत्काल ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन्। “मैदानमा राष्ट्रको नामका लागि ज्यानको बाजी लगाउने खेलाडीलाई चोटपटक लाग्दा सरकारले पूर्ण रूपमा उपचारको जिम्मा लिनुपर्छ,” बस्नेतले भने।
उनले नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि १ लाख रुपैयाँ सहयोग गरेकोमा धन्यवाद दिंदै भने, “तर त्यो रकम अपुग छ। जबसम्म खेलाडीको पूर्ण उपचार हुँदैन, तबसम्म सरकारले यसमा चासो दिनैपर्छ।”
बस्नेतले हालसम्म सरकारले यस विषयमा गम्भीरता नदेखाएकोप्रति चिन्ता व्यक्त गर्दै यस्तो उपेक्षाले सम्पूर्ण खेल क्षेत्रमा निराशा छाएको बताए। “यदि मैदानमै चोटग्रस्त हुने खेलाडीहरूलाई सरकारले प्राथमिकतामा राखेर उपचारको व्यवस्था मिलाउँथ्यो भने, आज खेलाडीहरूले यस्तो पीडा भोग्नुपर्ने थिएन,” उनले जोड दिए।
उनले प्रधानमन्त्री, युवा तथा खेलकुद मन्त्री, स्वास्थ्य मन्त्री, साथै कोशी प्रदेशका मुख्यमन्त्री समक्ष अपील गर्दै भने, “लोहनीको उपचार तत्काल सुनिश्चित गरिदिनुहोस्। यो केवल एक खेलाडीको सवाल होइन, सम्पूर्ण खेल क्षेत्रको मनोबल र भावी सम्भावनाको कुरा हो।”
बस्नेतले चेतावनी दिँदै भने, “यदि लोहनीजस्ता प्रतिभाशाली खेलाडीहरूले सहयोग नपाउने हो भने, यो अवस्थाले ‘खेल क्षेत्रमा भविष्य छैन’ भन्ने सन्देश जान सक्छ। खेलाडी राष्ट्रका गहना हुन्, उनीहरूको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्नु राज्यको कर्तव्य हो।”
लोहनी कोशी प्रदेश क्रिकेट टोलीका पूर्वकप्तानसमेत हुन् र उनले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने सम्भावना बोकेका खेलाडी हुन्। यस्ता खेलाडीहरूलाई गुमाउनु नेपाली क्रिकेटकै लागि ठूलो क्षति हुने बस्नेतको भनाइ छ।
अहिले लोहनी भारतको अस्पतालमा उपचाररत छन् र उनी तथा उनका परिवार उपचार खर्च जुटाउन संघर्षरत छन्। सरकार, संघसंस्था तथा खेल प्रेमीहरूसँगै समाजका सबै तहले यस्ता खेलाडीहरूको साथ दिनुपर्ने बेला आएको सदस्यसचिव बस्नेतले उल्लेख गरे।

