इटहरी | इटहरी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको आदर्श टोल विकास संस्थाको अध्यक्षमा पुनःनगेन्द्र प्रसाद रोइला सर्वसम्मतिले निर्वाचित भएका हुन् । संस्थाको १० औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट नयाँ कार्यसमिति गठन गरिएको हो।

संस्थाको नवगठित कार्यसमितिमा उपाध्यक्षमा गोपाल राउत, सचिवमा शोभा कालाखेती (दाहाल), कोषाध्यक्षमा निर्मला बास्तोला (कटेल), र सहसचिवमा कुमार घिमिरे चयन भएका छन्। साथै, सदस्यहरूमा होम प्रसाद दाहाल, टेक प्रसाद धमला, शम्भु प्रसाद लम्साल, इन्दिरा राउत, महेन्द्र श्रेष्ठ, र टिकाराम अधिकारी सहित जम्मा ११ सदस्यीय समिति बनाइएको छ।

कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा सपथ ग्रहण गराइएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष रोइलाले विगतका अनुभवका आधारमा आगामी दिनमा टोल विकासका लागि थप योजनाबद्ध र परिणाममुखी कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता जनाउनु भयो । उहाले टोलको भौतिक विकास, सामाजिक समावेशिता, युवाहरूको सहभागिता र सामुदायिक सशक्तिकरणमा विशेष जोड दिइने बताउनुभयो ।

साधारणसभासँगै संस्थाले जेष्ठ नागरिक तथा एकल महिलाहरूलाई सम्मान र्कार्यक्रम र नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा अधिवेशन कार्यक्रम समेत सम्पन्न गरेको छ ।

साधारणसभा तथा अधिवेशन इटहरी उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रतन कार्की (कैलाश)को प्रमुख आतिथ्यतामा गरिएको थियो।

समारोहमा टोलबासीको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले संस्थाको आगामी योजनाहरूलाई सफलतापूर्वक कार्यान्वयन गर्न थप ऊर्जा र उत्साह प्रदान गरेको बताइएको छ।