इटहरी | नेपाली साहित्यिक क्षेत्रले शनिबार एउटा अनौठो र नवीन अनुभव साक्षी भयो। लेखक श्रेयज सुवेदीको पहिलो कथासङ्ग्रह ‘बहुरूपी’ को लोकार्पण परम्परागत शैलीबाट अलग रहेर बहुआयामिक तरिकाबाट सम्पन्न भयो।

सामान्यतया पुस्तक लोकार्पण औपचारिक कार्यक्रममा प्रमुख अतिथि, लेखक तथा केही वक्ताहरूको उपस्थितिमा आयोजना गरिन्छ। तर ‘बहुरूपी’ को सार्वजनिकरण शैलीलाई पूर्ण रूपमा तोडेर लेखकीय संवेदनशीलता र पाठकप्रतिको नजिकको सम्बन्धलाई प्राथमिकता दिइएको देखियो। काठमाडौं उपत्यकाका सात फरक स्थानमा आयोजित पुस्तक स्टलमार्फत लेखक स्वयं पाठकहरूसँग प्रत्यक्ष संवादमा उत्रिए, पुस्तकमा हस्ताक्षर गरे, र सोही अवसरमा पुस्तक बिक्रीसमेत भयो।

बालुवाटारस्थित बुक्स मण्डला, थापाथलीको चियावाला, सुन्धारास्थित सिभिल मल, बानेश्वरको आइप्लेक्स मल, ललितपुरको लबिम मल, झम्सिखेलको चियामाया, र पाटन पिमवहालमा राखिएको पुस्तक स्टलमा दिनभर लेखकको उपस्थिति थियो। यी स्थानहरूमा पुस्तक खरिद गर्न आएका पाठकहरूले लेखकसँग कुराकानी गर्ने अवसर पाए, पुस्तकमा हस्ताक्षर लिने सौभाग्य पाए, अनि पुस्तकको गहिराइबारे प्रत्यक्ष सुन्ने मौका पनि पाए।

काठमाडौँको बुक स्टलहरूमा भीड बढेको दृश्यले नेपाली पाठक समुदायको सक्रियता मात्र होइन, प्रचारप्रसारको नविन ढंगले पनि कत्तिको प्रभाव पार्न सक्छ भन्ने प्रमाणित गर्‍यो।

पुस्तक प्रकाशक बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले बताएअनुसार, ‘बहुरूपी’ को प्रचारमा सिनेमाको शैलीमा बजार व्यवस्थापन गरिएको हो। ‘कतिपय उत्कृष्ट पुस्तकहरू पाठकहरूसम्म पुग्न नसक्ने कारण बजार व्यवस्थापनकै कमजोरी हो,’ उनले भने, ‘यसकारण हामीले ‘बहुरूपी’ का लागि भिन्न ढंगबाट सोचेका हौँ। पब्लिसिटी, पाठकको प्रत्यक्ष पहुँच र बजारमा उत्सुकता सिर्जना गर्ने तत्वहरूलाई हामीले प्रयोगमा ल्याएका हौँ।’उक्त रणनीतिले साहित्यिक क्षेत्रमा बजारको महत्वलाई पुनः परिभाषित गरेको छ।bahurupi

सधैं शान्त र गम्भीर स्वभावका श्रेयज सुवेदीले लोकार्पणको यो नयाँ प्रयोग आफूका लागि पनि निकै अर्थपूर्ण रहेको बताए। ‘म मेरा कथामा जुन मौलिकता राख्न खोजेको छु, त्यही मौलिकता आजको लोकार्पणमा पनि देखियो,’ उनले भने, ‘कथा र लेखकको सम्बन्ध केवल किताबको पाना भित्र सीमित नहोस्, पाठकहरूसँग प्रत्यक्ष सम्बन्ध बने, त्यसैले म खुसी छु।’

कुल २२८ पृष्ठको यस कथासङ्ग्रहमा १५ वटा कथाहरू छन्, जुन ६ खण्डमा विभाजित छन्। कथाहरू केवल मनोरञ्जनात्मक नभई सामाजिक, मनोवैज्ञानिक र सांस्कृतिक चेतनाले भरिपूर्ण छन्। मधेशको भूगोल, भाषा, जीवनशैली, र त्यहाँको आम मानवीय अनुभूतिलाई सूक्ष्म ढंगले प्रस्तुत गरिएको छ।

श्रेयजले युवाको मनोदशा, सपना, संघर्ष र समाजसँगको अन्तरक्रियालाई प्रभावशाली भाषाशैलीमा पस्किएका छन्। कथाहरूमा प्रयोग गरिएको प्रतीकात्मकता र स्थानीयताले नेपाली कथा साहित्यलाई अझ समृद्ध बनाउने सम्भावना बोकेको देखिन्छ।

बुकहिल प्रकाशनद्वारा प्रकाशित यो महत्त्वाकांक्षी पुस्तकको मूल्य ५५५ रुपैयाँ तोकिएको छ। हालका लागि काठमाडौंका विभिन्न बुक स्टलहरूमा उपलब्ध भए पनि छिट्टै देशभरका पुस्तक पसलमा तथा अनलाइनमार्फत पनि उपलब्ध हुने प्रकाशकले जानकारी दिएका छन्।

‘बहुरूपी’ को लोकार्पण कार्यक्रमले नेपाली साहित्यिक बजारमा एउटा नवीन उदाहरण प्रस्तुत गरेको छ। यो प्रयासले केवल एउटा पुस्तकलाई बजारमा ल्याएको मात्र होइन, नेपाली प्रकाशन क्षेत्रलाई नयाँ सोच, नयाँ तरिका र पाठक–लेखक सम्बन्धलाई अझ बलियो बनाउने दिशामा सोच्न बाध्य बनाएको छ।