इटहरी । बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बेपत्ता दुईजनाको खोजी आज पनि जारी रहेको प्रहरीले जनाएको छ । सोमबार बिहान करिब ८ः३० बजे खोटाङको केपिलास गढी गाउँपालिका–४ का ४० वर्षीय नवराज बास्तोला र उनका भान्जा इटहरी उपमहानगरपालिका–१६ का १६ वर्षीय जेनिस आचार्य डुबेर बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले घटनाबारे जानकारी पाउना साथ उद्धारमा प्रहरी खटाइएको बताए। गोताखोरसहितको अनुभवी सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजतलास गरिरहेको उनले जानकारी दिए। सशस्त्र प्रहरी बलका पाँच जनाको तालिम प्राप्त गोताखोरको टोलीसहित ११ जना पौडीबाज बिहानैदेखि खटिएको सशस्त्र प्रहरी बल(४ नम्बर गण सुनसरीका प्रमुख प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए। उनीहरु बराह क्षेत्र मन्दिरमा पूजागर्न गएका बेला नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् ।


