इटहरी ।  तराईमा पनि झरना हुन्छभन्दा धेरैलाई अचम्म लाग्नसक्छ तर मोरङको सामलिङ्गमा मनै लोभ्याउने झरना छ । यो ‘कोलुङ्ग झरना’ तराई र पहाडको फेदीमा रहेको मिक्लाजुङ्ग–५ मा पर्छ । मनमोहक भएका कारण यो झर्ना आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । गर्मी बढेसँगै यहाँ आन्तरिक पर्यटकको आगमन बढ्ने गर्छ । यसपटक पनि गर्मी छल्न यहाँ आउनेहरू बढ्दैछन् तर यसको संरक्षणका लागि उचित पहल हुनसकेको छैन । जसकारण  ‘कोलुङ्ग झरना’ ओझेलमा परिरहेको छ । महेन्द्र राजमार्गबाट करिब एक घण्टामा पुग्न सकिने भए पनि बाटो नभएका कारण खोलाको बगरैबगर जानुपर्दा करिब चार घण्टा लाग्ने गरेको छ । त्यसैले पनि धेरैजसोले बाटोको समस्याले चाहेर पनि यहाँ जानसक्दैनन् । न त यसको उचित प्रचार हुनसकेको छ । तथापि थाहा पाएकाहरू यहाँको प्राकृतिक सौन्दर्यको आनन्द लिन आइपुग्छन् । महेन्द्र राजमार्गबाट १७ किलोमिटरको दूरीमा रहेको झरनामा पौडी खेल्न, पिकनिक खान र गर्मी छल्न किशोरकिशोरी, युवालयात आउने गरेका छन् । यो झरना जिल्ला सदरमुकाम विराटनगरबाट ७० किलोमिटरको दूरीमा छ । महेन्द्र राजगमार्गमा पर्ने पथरीबजारबाट उत्तर जाँतेबजार हुँदै तेली खोलाको किनारै किनारको बाटोबाट यहाँ पुग्नुपर्ने हुन्छ । झरनामा आउने अधिकांशले फोटो खिच्ने, भिडियो तथा टिकटक बनाउने र त्यसैमा रमाउने गरेका छन्  । पर्यटकको सहजताका लागि आधारभूत संरचना बनाउन पनि कसैले ध्यान दिन सकेका छैनन् । स्वयम् मिक्लाजुङ्ग गाउँपालिकाले पनि यसतर्फ ध्यान दिएको छैन । वडाअध्यक्ष मेघनाथ तामाङ भने नेपालकै होचो स्थानको झरना भएकाले यसको प्रवर्द्धनमा स्थानीय सरकार लागिपरेको दाबी गर्नुहुन्छ ।  खोलाका कारण झरनासम्म बाटो पु¥याउन नसकेको र त्यसका लागि आफूहरूको बजेटले नधान्ने उहाँको भनाइ छ । हुन त पूर्वपश्चिम राजमार्गको मङ्गलबारेबाट १३ किलोमिटरको दूरीमा सामालिङ्गसम्म यातायातका साधन पुग्ने गरेका छन् तर झरनासम्म पुग्न थप तीन किलोमिटर पैदल हिँड्नुपर्छ । यो समस्या समाधान भएमा धेरैले झरनाको आनन्द लिन सक्ने यहाँ पुगेका पथरीशनिश्चरेका विवेक गौतमको विश्वास छ ।  यो झरनाको दुई सय मिटरभन्दा लामो छ । सम्भावना भएर पनि संरक्षण र प्रवर्द्धनको अभावमा यो झरना ओझेलमा परिरहेको छ ।